दीपावलीमा प्रदर्शन भएका दुई बलिउड फ्रेन्चाइज फिल्म ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’ले भीडन्तका बाबजुद इनिसियल व्यापार आक्रामक गरे । दुई फिल्मलाई टक्करको ओपनिङ मिलेको थियो । पहिलो हप्तामै दुवै फिल्मले डेढ सय करोडको आँकडा नघाएका भए । दोस्रो र तेस्रो हप्ता पनि व्यापारिक गति राम्रो रह्यो । अब भने दुवै फिल्म हलबाट उत्रने संघारमा पुगिसकेका छन् ।
भारतीय अनलाइन पोर्टल विजनेश टूडेका अनुसार ‘भूल भूलैयाँ ३’ र ‘सिंघम अगेन’को अकुपेन्सी १० प्रतिशतभन्दा तल झरिसकेको छ । यद्यपि, व्यापारमा भने ‘भूल भूलैयाँ ३’ अगाडि देखिएको छ । चौथो हप्ताको मंगलबारसम्म फिल्मले २ सय ४९ करोड नेट कमाएको ट्रेड पोर्टल स्याकेनिल्कले उल्लेख गरेको छ । ‘सिंघम अगेन’को व्यापार भने २ सय ४१ करोड नेट पुगेको छ ।
‘भूल भूलैयाँ ३’ले चौथो मंगलबार १ करोड १० लाख कमाउँदा ‘सिंघम अगेन’ले ६० लाख मात्र जोड्यो । अब बुधबारको व्यापारले ‘भूल भूलैयाँ ३’ले २ सय ५० करोडको ‘माइलस्टोन’ पूरा गर्नेछ । योसँगै फिल्मले १ सय करोड नाफा कमाउने इन्डिया टाइम्सले उल्लेख गरेको छ । यसलाई ठूलो उपलब्धि मानिएको छ । यो फिल्म १ सय ५० करोडमा बनेको हो ।
एकसाथ प्रदर्शनमा आएको ‘भूल भूलैयाँ ३’ले राम्रो नाफा कमाउँदै गर्दा ठूलो बजेटका कारण ‘सिंघम अगेन’ भने हलको व्यापारबाट घाटामा जाने भएको छ । किनकि, यो फिल्म अझै पनि लगानीभन्दा लगभग १०९ करोड टाढा छ । यसको निर्माण लागत ३ सय ५० करोड जनाइएको छ । फिल्मको ओटीटी राइट्स अमेजन प्राइमले किनिसकेकाले निर्माताको लगानी भने सुरक्षित हुने देखिन्छ ।
अबको एक हप्तामा रिलिज हुन लागेको साउथको ठूलो सिक्वेल फिल्म ‘पुष्पा २’ले ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’ दुवैलाई हलबाट बढार्ने निश्चित छ । भारतीय बक्स अफिसमा ‘पुष्पा २’ले सुनामी ल्याउने प्रक्षेपण गरिएको छ । फिल्मको क्रेजलाई मध्यनजर गर्दै शनिबारबाट अग्रिम बुकिङ खुला गरिँदैछ । यसले भारतमा मात्र एक हजार करोड कमाउन सक्ने सम्भावना देखिन्छ ।