मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डोरी’को मुहूर्त, मुख्य भूमिकामा प्रवीण र अञ्जना

फिल्मीखबर, काठमाडौं, 2024/11/28

 

‘मनसरा’का शीर्ष अभिनेता प्रवीण खतिवडा र कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’की अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहने फिल्म ‘डोरी’को मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा, क्ल्याप बोर्ड र स्क्रिप्ट पूजा गरिएको हो । छायांकन भने आइतबारबाट सुरु हुने निर्देशक अरुण लामाले जानकारी दिए ।

मुहूर्तमा प्रवीण र अञ्जनासहित फिल्मका अन्य कलाकारहरु शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, नूतन लगायतको उपस्थिति थियो । उनीहरुले सरस्वती मन्दिरमा पूजाआजा गर्दै फिल्म सफलताको कामना गरे । यसमा कविता आले, सजन श्रेष्ठको पनि अभिनय रहनेछ ।

मुहूर्त कार्यक्रममा निर्देशक लामाले फिल्मको नामको अर्थ र गहिराइबारे व्याख्या गरे । ‘डोरी’ नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्ने जनाउँदै उनले भने, ‘फिल्मका पात्रहरू आ-आफ्ना तरिकाले बाँधिएका छन् । कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले र कोही मायाको डोरीले । यसले वास्तविकताको खोज र रहस्यलाई उजागर गर्दछ ।’ ‘डोरी’ले सामाजिक यथार्थ र समकालीन सन्दर्भलाई कथामार्फत जीवन्त बनाउने उनको भनाई छ ।

त्यस्तै, अञ्जनाले फिल्मको आइडिया नयाँ रहेको बताइन् । उनले भनिन्, ‘नयाँ प्रोजेक्टमा काम गर्न पाउँदा सधैँ रमाइलो लाग्छ । यो फिल्ममा नयाँ आइडिया छ र यसले दर्शकलाई नयाँ अनुभूति दिनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।’ उनले फिल्म व्यावसायिक रुपमा पनि सफल हुनेमा विश्वास व्यक्त गरिन् । ‘सारङ्गी’को सफलतापछि उनले काम गर्न लागेको यो पहिलो फिल्म हो ।

अभिनेता प्रवीण खतिवडा भने ‘डोरी’लाई विभिन्न श्रेणीको मिश्रणको रुपमा परिभाषित गर्छन् । ‘यसमा रहस्यमय कथा, सामाजिक यथार्थवाद र ‘सस्पेन्स क्राइम’को संयोजन छ । यी तीनवटाको मिश्रणले दर्शकलाई मनोरञ्जन दिनेछ भन्ने विश्वास छ,’ उनले भने ।

 

Dorii


निर्देशक लामा स्वयंको लेखन रहेको फिल्ममा मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माता दिनेश भट्टराई तथा कार्यकारी निर्माता राज थापा हुन् । फिल्मलाई सौरभ लामाले छायांकन गर्नेछन् । यसमा संगीत राजनराज सिवाकोटी तथा द्वन्द्व निर्देशन राजु तामाङको रहनेछ । फिल्मलाई आगामी वर्ष अर्थात् सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ ।