मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जारी’ले राष्ट्रिय अवार्ड नपाउँदा जुरीमाथि उठेको प्रश्न

फिल्मीखबर, काठमाडौं, 2024/11/29

jari movie

 

पछिल्ला वर्षमा फिल्म रिलिजको संख्याभन्दा ज्यादा नेपाल र विदेशमा अवार्ड भइरहेका छन् । तर, अचेल कुनै अवार्डप्रति न आम दर्शकलाई चासो रहन्छ न त फिल्मकर्मीलाई । यसको एउटै कारण हो, अवार्डप्रति गुम्दो विश्वास । ‘राम्रालाई भन्दा हाम्रालाई’ भन्ने प्रवृत्ति मौलाउँदा फिल्म अवार्डको गरिमा गुमिरहेको मात्र छैन, अहिले त कसैले अवार्ड पाउँदा समेत शंकाको नजरले हेर्ने गरिन्छ ।

यद्यपि, निजी संस्थाहरुले प्रदान गर्ने अवार्डभन्दा चलचित्र विकास बोर्डले बाँड्ने राष्ट्रिय अवार्डलाई भने केही हदसम्म महत्त्वका साथ हेरिन्छ । तर, राष्ट्रिय अवार्डको सुरुवातदेखि कुनै यस्तो वर्ष छैन, जहाँ विवाद नभएको होस् । गत वर्ष त मुख्य विधा अर्थात् उत्कृष्ट फिल्म नै ‘गायब’ पारेर अवार्ड बाँडिएको विषय अदालतसम्म पुगेको थियो । यस्ता घटनाले राष्ट्रिय अवार्डको गरिमा गुमिरहेको छ ।

यस वर्षको राष्ट्रिय अवार्ड पनि आयोजना भइसकेको छ । यही बुधबार (मंसिर १२ गते) राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट ८ विधामा अवार्ड वितरण गरियो । अघिल्ला वर्षहरुमा जस्तो राष्ट्रिय अवार्ड त्यति विवादित नबनेको भए पनि जुरीको निर्णयप्रति भने प्रश्न उठेका छन् । त्यो प्रश्न उठ्नुको कारण हो, ‘जारी’लाई आठ विधामध्ये कुनैमा पनि अवार्ड नदिइनु ।

गत वर्ष प्रदर्शनमा आएका फिल्महरुमध्ये कथावाचनको हिसाबले ‘जारी’लाई उत्कृष्ट मानिन्छ । दर्शक र समीक्षकले पनि फिल्मलाई अब्बल भनेका थिए । तर, राष्ट्रिय अवार्डमा ‘जारी’लाई धेरै कमाउने फिल्मको एउटा अवार्ड मात्र दिइयो । यसले राष्ट्रिय अवार्डका जुरीहरुको ‘सिनेमा लिट्रेसी’माथि नै प्रश्न उठेको छ । ‘जारी’माथि अन्याय भएको भन्दै फिल्मकर्मीहरुले असन्तुष्टि जनाइरहेका छन् ।

‘नाङ्गो गाउँ’का निर्देशक दीपेन्द्र लामाले बिहीबार फेसबुकमा स्टाटस लेख्दै कुनै पनि विधामा एउटा पनि अवार्ड नदिइनु ‘जारी’माथि अन्याय भएको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘नेशनल फिल्म अवार्डका निर्णायक समितिको ‘फिल्म लिट्रेसी’ निकै नै दयनीय रहेछ । छर्लङ्ग भयो ।’ उनको धारणामा धेरै सहमत देखिएका छन् । कतिले अवार्डमा राजनीति भएको टिप्पणी समेत गरेका छन् ।

उनको स्टाटसमा कलाकार दीपकराज गिरीले समेत प्रतिक्रिया जनाएका छन् । तर, उनको मत भने फरक देखिन्छ । उनले अवार्ड यसले र उसले पाउनुपर्थ्यो भनेर फिल्मकर्मीले नै भन्नु ठीक नभएको आशय व्यक्त गरेका छन् । दीपेन्द्रलाई प्रश्न गर्दै दीपकराजले लेखेका छन्, ‘जुरीले चलचित्रमा हुनुपर्ने गुण अर्कै चलचित्रमा पायो होला । चलचित्रकर्मीले यसले होइन, उसले पाउनुपर्थ्यो भन्ने र ?’

दीपकराजको प्रतिक्रियामा निर्देशक लामाले प्रतिजवाफ फर्काएका छन् । फिल्मको बारेमा फिल्मकर्मीले नै बोल्नुपर्ने उनको तर्क छ । आफूले सम्पूर्ण विधामा ‘जारी’ले मात्र अवार्ड पाउनुपर्छ भनेर नभनेको उल्लेख गर्दै उनले सबैबाट राम्रो समीक्षा पाएको फिल्मलाई एउटै पनि विधामा अवार्ड नदिइनु विल्कुलै अस्वभाविक रहेको जनाएका छन् । उनको यो तर्कमा पनि धेरै सहमत देखिएका छन् ।

निर्देशक लामाले मात्र होइन, केही कलाकार तथा फिल्मप्रति चासो राख्ने दर्शकहरुले पनि सामाजिक सञ्जालमार्फत् राष्ट्रिय अवार्डमा ‘जारी’माथि अन्याय भएको प्रतिक्रिया जनाइरहेका छन् । कसैले पूर्वाग्रहको आरोप लगाएका छन् । कसैले नस्लवादको समेत संज्ञा दिएका छन् । यद्यपि, अवार्ड वितरणप्रति असन्तुष्टि देखिनु नौलो होइन । तर, ‘जारी’माथि भने वास्तवमा नै अन्याय भएकै देखिन्छ ।