गत जेठमा नेपाल रिलिज भएको रोड-थ्रिलर फिल्म ‘बाटो : रोड टु डेथ’लाई विश्व प्रतिष्ठित ओटीटी प्लेटफर्महरुमा उपलब्ध गराएको छ । ‘अमेजन प्राइम भिडियो’, ‘ट्युबी’, र ‘बुक माई शो स्ट्रिम’मा फिल्मको स्ट्रिमिङ सुरु भइसकेको निर्माण कम्पनी काठमाडौं फिल्म्सका सञ्चालक तथा निर्माता चन्दन झाले जानकारी दिए ।
तर, यी तीनवटै प्लेटफर्ममा फिल्मलाई सीमित देशमा मात्र हेर्न सकिन्छ । ‘अमेजन प्राइम भिडियो’मा युरोप र अमेरिकामा सशुल्क र यिनै दुई देशमा ‘ट्युबी’बाट फिल्मलाई निःशुल्क हेर्न पाइन्छ । त्यस्तै, ‘बुक माई शो स्ट्रिम’बाट भारतमा नेपाली भाषामा अङ्ग्रेजी सबटाइटलसहित फिल्म स्ट्रिमिङ भइरहेको छ । अब ‘फ्युचर टिभी’ लगायतका ओटीटीमा फिल्म रिलिजको तयारी गरिएको छ ।
निर्माता झाले ‘बाटो’मार्फत् अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको सम्भावना खोज्ने प्रयास गरिएको बताए । उनी भन्छन्, ‘नेपाली फिल्मको गुणस्तर र पहुँच बढाउने उद्देश्यले हामीले ‘बाटो : रोड टु डेथ’ बनाएका हौँ । नेपालको बक्स अफिसमा सफल नभए पनि यो फिल्ममार्फत् अन्तर्राष्ट्रिय बजारका विभिन्न सम्भावनाहरूलाई खोज्ने कार्य गरेका छौँ ।’
‘बाटो’का निर्देशक, लेखक तथा सम्पादक मदन थापा हुन् । दक्षिण भारतीय फिल्मको प्राविधिक टोली लिएर निर्माण गरिएको फिल्ममा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय रहेको छ । फिल्ममा छायांकन र ब्याकग्राउन्ड स्कोर सशक्त छ ।