मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्रस्व दीर्घ’ले साढे ८ करोड कमाएको दाबी

फिल्मीखबर, काठमाडौं, 2024/11/30

Neeta Dhungana Adhikari

 

अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी दम्पतीको निर्माण तथा शीर्ष भूमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’ले हलमा प्रदर्शनको दुई हप्ता पूरा गरिसकेको छ । शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गरेको फिल्मले पहिलो हप्ता ५ करोड ५४ लाख ग्रस कमाई गरेको निर्माताले जनाएका थिए । दोस्रो हप्तामा भने फिल्मले लगभग ३ करोड छापेको छ ।  

शनिबार बिहान निर्मात्री नीताले फेसबुकमार्फत् सार्वजनिक गरेको कलेक्सन रिपोर्टमा फिल्मको १४ दिनको कमाई ८ करोड ५२ लाख उल्लेख छ । अर्थात् दोस्रो हप्तामा फिल्मले २ करोड ९८ लाख कमाएको छ । फिल्मले दुई हप्तामा गरेको कमाई ‘ग्रस’ हो । त्यसबाट हलको ५० प्रतिशत सेयर र वितरकको कमिसन काटिएर आउँदा निर्माताको हातमा बढीमा साढे ४ करोड पर्न सक्छ ।

‘ह्रस्व दीर्घ’ले प्रदर्शनको तेस्रो हप्ता देशभर लगभग ५० शो पाएको छ । हप्ता बढ्दै गएकाले प्राप्त शोमा अकुपेन्सी पनि कमजोर बनिरहेको छ । यद्यपि, अन्य सहरमा भन्दा तुलनात्मक रुपमा नेपालगञ्ज र दाङमा फिल्मको व्यापार अझै राम्रो छ । ६ करोडको लागतमा निर्माण भएको फिल्मले नेपालबाटै ‘हिट’को ट्याग पाउन भने कम्तीमा १२ करोड ग्रस कमाउनुपर्ने हुन्छ ।

निर्मात्री ढुंगानाले प्रदर्शनको पहिलो हप्तामै आफ्नो लगानी सुरक्षित भइसकेको दाबी गरेकी थिइन् । उनका अनुसार भारतको ओटीटी प्लेटफर्ममा फिल्म बिक्री भइसकेको छ । फिल्मले नेपालको कमाईसहित विभिन्न राइट्सबाट २१ करोड ग्रस कमाउने उनको आँकलन छ । अब आगामी वर्ष अर्थात् २०२५ मा तेलुगु भाषामा फिल्मलाई भारतका हलमा रिलिजको तयारी गरिएको छ । जसबाट राम्रो कमाई हुनेमा निर्माण टिम विश्वस्त देखिन्छ ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा नेपाली र दक्षिण भारतीय कलाकारहरुको पल्टन नै छ । यसमा भारतबाट प्रदीप रावत, ब्रह्मानन्दम, सुनिल बर्मा, अली र कबीर दुहन सिंह छन् भने नेपाली कलाकारहरु नीता र हरिहरसहित विपना थापा, रेखा थापा, सञ्चिता लुइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । फिल्मलाई बलिउडका प्रख्यात छायाँकार कवीरलालले खिचेका हुन् ।