फिल्म ‘लक्का जवान’पछि पुनः सहकार्य गरेका अभिनेताद्वय दीलिप रायमाझी र सलोन बस्नेतले फिल्म ‘रंगी’को छायांकन सकाएका छन् । छायांकन सुरु भएको २६औं दिनमा फिल्म ‘प्याकअप’ भएको हो । एक महिनाको सेड्युल राखिएको भए पनि निर्धारित समयभन्दा ४ दिनअघि नै फिल्मको छायांकन पूरा भएको निर्देशक सुरेश न्यौपानेले बताए ।
शुक्रबार बनेपामा अवस्थित चण्डेश्वरी मन्दिरमा फिल्मको एक गीत खिचिएको थियो । कविराज गहतराजको कोरिग्राफीमा तयार भएको ‘छ भने माया’ बोलको गीतमा दीलिप र सलोनसहित फिल्मकी मुख्य अभिनेत्री नम्रता श्रेष्ठ (पूर्वमिस नेपाल) र बाल कलाकार आयुषी ढकालले नृत्य गरेका छन् । गीतमा दुर्गेश थापाको शब्द तथा संगीत छ भने आनन्द कार्की र सुजता केसीको गायन छ ।
फिल्मको छायांकन सकिएसँगै माल्टा प्रदर्शन अधिकार बिक्री भएको छ । मगवोर्ट प्रोडक्सनले फिल्मको माल्टा राइट्स खरिद गरेको हो । यसअघि मध्यपूर्व र मलेसियामा पनि फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको छ । यसरी हेर्दा विदेशमा फिल्मको राम्रो माग देखिएको छ । यो निर्मातालाई ठूलो राहत हो ।
फिल्ममा उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय रहेको छ । सक्षम सुवेदीको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ । फिल्मको प्रदर्शन मिति भने निश्चित भएको छैन ।