भारतमा यस वर्षको ठूलो रिलिज मानिएको अभिनेता अल्लू अर्जुन अभिनीत साउथ फिल्म ‘पुष्पा २ : द रूल’ले अबको चार दिनमा बक्स अफिसमा आफ्नो राज सुरु गर्दैछ । ‘स्योर सट’ ब्लकबस्टर मानिएको फिल्मको क्रेजलाई मध्यनजर गर्दै शनिबारबाट भारतमा हिन्दी र अन्य भाषामा एड्भान्स बुकिङ खुला भइसकेको छ । र, २४ घण्टामै ठूलो मात्रामा टिकट बिक्री भएको छ ।
भारतीय पोर्टल विजनेश टूडेका अनुसार बुकिङ खुलेको १० घन्टामा मात्र भारतका तीन ठूला मल्टीप्लेक्स चेन पीभीआर, आईनक्स र सिनेपोलिसबाट ५४ हजार टिकट बिकेको छ । यो हिन्दी भाषाको मात्र हो । अन्य भाषाको समेत गरेर २४ घण्टामा फिल्मको साढे २ लाख टिकट बिक्री भएको जनाइएको छ । रिलिजको अघिल्लो दिनसम्म ५ लाखभन्दा बढी टिकट बिक्री हुनसक्ने देखिन्छ ।
टिकट बिक्रीको ट्रेन्ड हेर्दा भारतमा फिल्मले २ सय करोडमाथिको ओपनिङ गर्ने निश्चित छ । विश्वव्यापी भारु तीन सय करोडसम्म पुग्न सक्छ । ‘पुष्पा २’ले अग्रिम बुकिङ र कलेक्सनमा ‘बाहुबली २’ र केजीएफ २’को रेकर्ड समेत तोड्ने अनुमान छ । ‘बाहुबली २’ले अग्रिम बुकिङबाट पहिलो दिन सय करोड र ‘केजीएफ २’ले ८० करोड कमाएको थियो ।
विजनेश टूडेका अनुसार भारतको दक्षिणी राज्यका सिंगल थिएटरमा ‘पुष्पा २’को टिकट अभाव भइसकेको छ । त्यस्तै, आन्ध्र प्रदेश र तेलंगाना क्षेत्रमा फिल्मको अत्याधिक माग हुँदा टिकटको मूल्यमा वृद्धि गरिएको छ । यी क्षेत्रमा प्रदर्शनको पहिलो चार दिनका लागि टिकट मूल्य भारु ६ सयसम्म पुगेको छ भने मुम्बई क्षेत्रमा प्रिमियम टिकटको मूल्य भारु ३ हजारसम्म छ ।
यही बिहीबारबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अल्लू अर्जुनसहित फहाद फासिल, रश्मिका मन्दाना, सुनिल बर्मा, धनन्जय, जगपति बाबू लगायतको अभिनय छ । सुकुमारको निर्देशन तथा लेखन रहेको फिल्म भारु ५ सय करोडमा बनेको हो । तीन सय करोड पारिश्रमिक त अल्लू अर्जुनले मात्र बुझेका छन् । हिन्दी, तमिल, मलयालम, कन्नड र बंगाली भाषामा फिल्म रिलिज हुनेछ ।