मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीलिपलाई छोरीसँग फिल्म खेल्ने इच्छा

फिल्मीखबर, काठमाडौं, 2024/12/01

Dilip Rayamajhi & Divya Rayamajhi

 

नेपाली फिल्ममा अभिनेता दीलिप रायमाझीले गर्विलो पहिचान बनाएका छन् । कुनै बेला करिअरको उत्कर्षमा रहेका उनले २ सय बढी फिल्ममा काम गरिसकेका छन् । अमेरिकामा बस्दा समेत उनले अभिनयलाई निरन्तरता दिए । पछिल्लो समय भने उनको बसाइँ नेपालमै बढी छ । यसैले अचेल उनी छायांकनमा व्यस्त देखिन्छन् । यसै साता उनले नयाँ फिल्म ‘रंगी’को छायांकन सकाए ।

कलाकारितामा स्थापित अघिल्लो पुस्ताका धेरै कलाकारले आफ्ना सन्तानलाई फिल्ममा ल्याइसकेको अवस्थामा दीलिपकी छोरी दिव्या समेत अभिनेत्री बनिसकेकी छन् । ‘एक्टर’बाट डेब्यु गरेकी उनले हालै दोस्रो फिल्म ‘पिताम्बर’को समेत छायांकन भ्याइसकेकी छन् । डेब्यु फिल्म प्रदर्शनमा नआउँदै उनको माग राम्रो देखिएको छ ।

अब धेरैले बाबुछोरी अर्थात् दीलिप र दिव्यालाई एउटै फिल्ममा हेर्न चाहेका छन् । शुक्रबार बनेपामा ‘रंगी’को गीत छायांकनको क्रममा दीलिपले छोरीसँग फिल्ममा काम गर्ने इच्छा रहेको बताए । उनले सञ्चारकर्मीहरुसँग भने, ‘हामी चाँडै एउटै फिल्ममा खेल्न पाइयोस् । यो मेरो लागि निकै गर्वको कुरा पनि हुनेछ । छोरीसँग फिल्ममा काम गर्न पाएँ भने म एकदमै खुसी हुने थिएँ ।’

रोचक कुरा के छ भने ‘रंगी’को गीतमा दीलिपलाई नचाएका कोरियोग्राफर कविराज गहतराजले केही दिनअघि ‘पिताम्बर’को गीतमा दिव्यालाई समेत नचाएका थिए । ‘रंगी’को छायांकनमा उनले बाबु र छोरीलाई नचाउँदाको अनुभव सुनाए । उनलाई नचाउन सहज भने दीलिपलाई नै भएको रहेछ । यद्यपि, दिव्याले पनि राम्रो नृत्य गरेको उनको भनाई छ ।

‘भर्खरै दीलिप दाईको छोरीलाई नचाएको आएको हुँ । अहिले उहाँलाई नचाउन पाएँ,’ पत्रकारले ‘को राम्रो डान्सर ?’ भनेर सोधेको प्रश्नमा उनले भने, ‘दीलिप दाईको त भन्नै परेन । उहाँ राम्रो डान्सर भनेर सबैलाई थाहा छ । उहाँको छोरीले पनि एकदमै राम्रो नाच्नुभएको छ । उहाँको नृत्य देखेर सबैजना छक्क पर्नुहुन्छ । सजिलो चाहिँ दीलिप दाईसँग नै भयो । बाप-बाप होता है (हाँस्दै) ।’