फिल्म ‘पूजार सार्की’को व्यावसायिक सफलतापछि अब निर्देशक दिनेश राउत नयाँ फिल्म ‘महाभोज’ बनाउने तयारीमा छन् । पहिला यो फिल्मको नाम ‘गाउँ नै रमाइलो’ थियो । तर, यो नामले कथावस्तुलाई न्याय नगर्ने भएपछि शीर्षक परिवर्तन गरेर ‘महाभोज’ राखिएको हो । आगामी माघ १ गतेबाट छायांकन सुरु हुने फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ ।
यसअघि फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल र मिरुना मगरलाई अनुबन्धित गरिएको थियो । अब फिल्ममा खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ र कमलमणि नेपाल निश्चित भएका छन् । कसको जोडी कोसँग बाँधिनेछ, त्यसबारेमा भने जानकारी गराइएको छैन । कलाकारको ‘लाइनअप’ हेर्दा फिल्म हेर्न दर्शकलाई रोचक हुने देखिन्छ ।
फिल्ममा विकास सुवेदीको लेखन छ । यसअघि उनले ‘प्रकाश’ र ‘पूजार सार्की’को पनि स्क्रिप्ट तयार पारेका थिए । फिल्मको निर्माण भने ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले गर्नेछन् । उनको दोस्रो फिल्म ‘दुःखी आत्मा’को केही हप्ताअघि मात्र छायांकन सकिएको थियो । पहिलो फिल्म सफल भएपछि उनी निर्माणमा हौसिएका छन् ।
सामाजिक विषयवस्तुमा बन्न लागेको ‘महाभोज’लाई आगामी जेठमा रिलिज लक्ष्य राखिएको छ । यसअघि निर्देशक राउतको ‘पूजार सार्की’ पनि जेठमा नै रिलिज भएको थियो । उनले जेठ महिनालाई ‘लक्की’ मानेको देखिन्छ । उनले यसअघि ‘प्रसाद’, ‘प्रकाश’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता कहिले रोमान्टिक त कहिले सामाजिक कथामा आधारित फिल्मको निर्देशन गरिसकेका छन् ।