मिति : २०८१ मंसिर १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मल्टीस्टारर फिल्म बनाउन पल्किए दिनेश राउत

फिल्मीखबर, काठमाडौं, 2024/12/03

Dinesh Raut

 

करिअरको उत्कर्षमा रहेको समयमा कलाकारहरु मल्टीस्टारर फिल्म गर्न हम्मेसी चाहँदैनन् ।  फिल्म सफल भए पनि जस अरुले नै पाउने भय प्रायःमा देखिन्छ । यो किसिमको सोच नयाँ पुस्तामा बढी छ । कलाकारहरुबीचको इगोले पनि मल्टीस्टारर फिल्म निर्माणमा कमी आएको देखिन्छ । ‘स्टार’ कलाकारहरु एकअर्कासँग काम नै गर्न चाहँदैनन् भन्ने भाष्य बनेको छ ।

तर, यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘पूजार सार्की’ले भने चल्तीका कलाकारलाई एकजुट बनाएर फिल्म बनाउन सम्भव छ भन्ने उदाहरण पेश गर्‍यो । यसको जस निर्देशक दिनेश राउतलाई जान्छ । उनीप्रतिको विश्वासले नै फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको सहकार्य जुर्न सम्भव भएको थियो । उनीहरुको स्टारडमका कारण फिल्मको व्यापार पनि मजबूद रह्यो ।

‘पूजार सार्की’को व्यावसायिक सफलतापछि मल्टीस्टारर फिल्म बनाउने ट्रेन्ड एकपटक फेरि सुरु भएको देखिन्छ । अहिले निर्माण भइरहेका र निर्माणको तयारीमा रहेका कतिपय फिल्ममा चलेका कलाकारहरुको ठूलै जत्था छ । निर्देशक राउत स्वयं पनि मल्टीस्टारर फिल्म बनाउन पल्किएका छन् । आगामी माघमा ‘महाभोज’ शीर्षकमा फिल्म बनाउन लागेका उनले यसमा कलाकारको ‘लाइनअप’ शक्तिशाली बनाएका छन् ।

दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही फिल्मको शीर्ष भूमिकामा देखिँदैछन् । कलाकारको यो ‘लाइनअप’ले नै फिल्मको सफलता देखाउँछ । आर्यन त निर्देशक राउतका ‘लक्की चार्म’ नै हुन् । अञ्जनासँग उनको ‘पूजार सार्की’मा सहकार्य भएको थियो । अन्य कलाकारहरुसँग भने उनको पहिलो सहकार्य हुनेछ ।

‘पूजार सार्की’अघि निर्देशक राउतले ‘प्रसाद’लाई मल्टीस्टारर बनाएका थिए । यसमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो । फिल्म सफल पनि भयो । ‘महाभोज’लाई भने उनले आफ्नो करिअरकै ठूलो मल्टीस्टारर फिल्म बनाउन खोजेको देखिन्छ । उनको यो प्रयास कहीँ न कहीँ फिल्मको व्यावसायिक सफलताका लागि रहेको नकार्न सकिँदैन ।