लगभग ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको फिल्म ‘तेल भिसा’ यतिबेला हलमा प्रदर्शनरत छ । प्रतिक्रिया राम्रो मिलेको भए पनि हलमा दर्शकको उपस्थिति अपेक्षित नहुँदा फिल्मले घरेलु बजारबाटै लगानी उठाउने सम्भावना टरिसकेको छ । यही बिहीबार आउन लागेको साउथ फिल्म ‘पुष्पा २’का कारण धेरै हलबाट फिल्म उत्रने देखिन्छ । फिल्ममा लगानी मात्र तीन करोडमाथि छ ।
‘तेल भिसा’को करिब एक महिना अमेरिकामा छायांकन भएको थियो । त्यसका लागि नेपालबाट अभिनेता विपिन कार्की, अभिनेत्री वर्षा राउत, छायाँकार सुशन प्रजापतिसहितको टिम अमेरिका पुगेको थियो । छायांकनका लागि अनुमति नै लिइएकाले अमेरिका सेड्युलमा निर्माण टिमले ठूलो समस्या बेहोर्नुपरेन । तर, वर्षाका कारण भने एक दिन छायांकन रोकिएको रहेछ ।
हालै एक अन्तर्वार्तामा फिल्मका निर्देशक शंकर घिमिरेले टेक्निकल टिमसँग वर्षाको झगडा पर्दा एक दिन छायांकन रोकिएको बताए । ‘उहाँको टेक्निकल टिमसँग झगडा पर्दा एक दिन छायांकन नै हुन पाएन । हामीले हरेक ठाउँमा अनुमति लिएर छायांकन गरेका थियौं । त्यहाँ एक दिन ब्रेक हुनु भनेको ठूलो घाटा हो । दिनकै हिसाब गर्ने हो भने ५/७ हजार डलर खर्च हुन्छ,’ उनले भने ।
छायांकन नै रोकिएपछि आफ्नो चित्तदुखाई वर्षासँग राख्दा उनले माफी मागेको निर्देशक घिमिरेले बताएका छन् । यद्यपि, उनलाई आफू पुरानो मेकर भएर फिल्मलाई नपत्याएको हो कि भन्ने लागेको रहेछ । तर, आफूले सबै कलाकारलाई राम्रो व्यवहार गरेको उनको भनाई छ । उनी फिल्मको टिम परिवारको सदस्यजस्तै हुने भएकाले रिसाउनु र मिल्नुलाई भने सामान्य नै मान्छन् ।
सोही अन्तर्वार्तामा शंकरकी श्रीमती तथा अभिनेत्री ऋचा घिमिरेले वर्षा मुडी स्वभावको रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘धेरै भागदौड भएकाले अमेरिका सेड्युलमा ऊ (वर्षा)सँग त्यस्तो समय विताउन पाइएन । पर्सनल लेभलमा वर्षा अलिकति मुडी छ । झट्ट रिसाइहाल्ने, झट्ट खुसी भइहाल्ने स्वभाव छ उसको । तर, उसको मनमा पाप छैन जस्तो लाग्छ ।’ उनले वर्षाको कामको भने खुलेर प्रशंसा गरेकी छन् । उनको डाइलग डेलिभरीबाट ऋचा प्रभावित भएकी छन् ।