चर्चित रियालिटी शो ‘रोडिज’का दुई निर्णायक प्रियंका कार्की र दीया मास्के पहिलोपटक फिल्ममा एकसाथ देखिँदैछन् । त्यो फिल्म हो, ‘ममी’ । हरर जनरामा निर्माण भएको यो फिल्ममा उनीहरुले मुख्य भूमिका निभाएका छन् । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २५ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।
सार्वजनिक पोस्टरमा प्रियंका र दीया चित्रित छन् । र, विरालोको आँखालाई देखाइएको छ । दीया रगताम्य अनुहारसहित डरलाग्दो रूपमा प्रस्तुत छिन् भने प्रियंका गम्भीर भावमा देखिएकी छन् । उनीहरुलाई रुखको आकारमा प्रस्तुत गरिएको छ । सुकेको रुखको फेदमा एउटा घर पनि देख्न सकिन्छ । फिल्मको कथा रुख र घरको वरिपरि केन्द्रित रहेको पोस्टरले संकेत गर्छ ।
समर निरौलाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा प्रियंका र दीयासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायतको अभिनय छ । एक परिवारमा छोरी र कुकुरको निधनपश्चात रहस्यमय कालो विरालो अपनाएसँगै निम्तने विपत्तिलाई फिल्मले देखाउनेछ ।
एसओ ट्वान्टी फाइभको प्रस्तुति रहेको फिल्मको निर्माता लोकराज जोशी र पूर्णिमा जोशी हुन् । सुमन कोइराला कार्यकारी निर्माता रहेको फिल्मलाई शरद महतोले छायांकन गरेका हुन् । फिल्मको वितरण काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्यूसनले गर्नेछन् ।