मिति : २०८१ मंसिर १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालका हलमा रातभरि चल्दै ‘पुष्पा २’, टिकट बिक्री आक्रामक

फिल्मीखबर, काठमाडौं, 2024/12/03

Pushpa 2: Release Date of Pushpa 2 - The Rule..

 

भारतमा मात्र होइन, नेपालमा पनि लामो समयदेखि प्रतीक्षा भइरहेको फिल्म हो, ‘पुष्पा २’ । यसको अघिल्लो श्रृंखलाले नेपालमा उल्लेख्य कमाएको थियो । अब सिक्वेलले बक्स अफिसमा सुनामी ल्याउने देखिएको छ । सोमबारबाट मल्टीप्लेक्सहरुमा खुलेको अग्रिम टिकट बुकिङको अवस्था हेर्दा फिल्मले नेपालमा तीन करोडको ओपनिङ गर्ने निश्चित छ । शो मात्र ५ सयभन्दा बढी छ ।

‘पुष्पा २’लाई नेपालका केही हलले २३ घण्टासम्म चलाउँदैछन् । काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजले फिल्मलाई बिहान ४ः१५ बजेदेखि मध्यरातको ११ः५५ बजेसम्म शो उपलब्ध गराएको छ । ३ घण्टा १५ मिनेट लम्बाईको फिल्म भएकाले विज्ञापन (५ मिनेट) र मध्यान्तरको ब्रेक (१० मिनेट)सहित गरी साँझ ११ः५५ बजे हल झिरेका दर्शकहरु बिहानको ३ः२५ बजे मात्र निस्कनेछन् । अर्थात् यो हल २४ घण्टामा ५० मिनेट मात्र बन्द हुनेछ ।

प्रायःजसो हलहरुले भने बिहान ५ बजेदेखि साँझ ११ः४५ बजेसम्मको शो खुलाएका छन् । र, बिहीबारका लागि बिहानदेखि मध्यरातसम्मका लगभग ७० प्रतिशत शो हाउसफुल भइसकेका छन् । बुधबार साँझसम्म करिब ९० प्रतिशत शो ‘सोल्डआउट’ हुने देखिएको छ । ‘डोरसेल’ पनि राम्रो हुने भएकाले बिहीबार फिल्मको टिकट हाहाकार देखिन सक्छ । यसले पनि फिल्मको नेपाल ओपनिङ आक्रामक हुने देखाउँछ ।

‘पुष्पा २’लाई ४ करोड भारु (नेपाली ६ करोड ४० लाख रुपैयाँ)मा नेपाल भित्राइएको हो । यो रकम उठाउन फिल्मले कम्तीमा १८ करोड कमाउनैपर्छ । ‘वर्ड अफ माउथ’ राम्रो रहेको अवस्थामा फिल्मलाई यो अंक टाढा भने छैन । यसअघि केही विदेशी फिल्मले नेपालमै २२ करोडमाथि कमाएका छन् । ‘पुष्पा २’को क्रेज हेर्दा यसले नेपालमा २० करोडको आँकडा टेक्न सक्ने देखिन्छ ।

‘पुष्पा २’को डरले पुष पहिलो सातासम्म नेपाली फिल्म नै छैनन् । यो फिल्मलाई शो उपलब्ध गराउन हलमा प्रदर्शन भइरहेका नेपाली फिल्मलाई समेत बिहीबारबाट उतारिँदैछ । ‘पूर्णबहादुरको सारङ्गी’लाई भने अझै धेरैजसो हलले टिकाउने देखिएको छ । तर, ‘पुष्पा २’का कारण ‘सारङ्गी’को ५० करोडको लक्ष्य भने सफल हुने सम्भावना झिनो बनेको छ ।