राष्ट्रिय अवार्ड जित्न सफल ‘बुलाकी’का निर्देशक लक्ष्मण सुनारको दोस्रो फिल्म ‘कल्ली’मा कलाकारहरुको ‘लाइनअप’ रोचक बनिरहेको छ । यही फिल्मबाट अभिनेता उत्तम प्रधानले करिब एक दशकपछि कमब्याक गर्दैछन् । यसमा सौगात मल्लको पनि मुख्य भूमिका रहनेछ । यसैबीच, अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउतलाई फिल्ममा अनुबन्धित गरिएको छ ।
आगामी पुष १० गतेबाट छायांकन सुरु हुन लागेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल, माओत्से गुरुङ, रविन्द्र झा, विनोद न्यौपाने, रेअर राईको पनि अभिनय रहने निर्माता किरण नेपालीले जानकारी दिए । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद लेखन छ । कथा भने निर्देशक सुनार स्वयंको हो ।
पौराणिक कथामा बन्न लागेको फिल्ममा निसाल पौडेलको छायांकन, एसडी योगीको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । फिल्मको निर्माण घोषणा गर्दा आगामी चैत २९ गते अर्थात् नयाँ वर्षलाई प्रदर्शन मिति निश्चित गरिएको थियो । तर, स्क्रिप्ट लेखन र कलाकार छनोटका कारण छायांकनमा निस्कन ढिलाई हुँदा अब पूर्वघोषित मितिमा फिल्म रिलिज नहुने देखिएको छ ।