मिति : २०८१ मंसिर १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निखिल उप्रेतीले अर्को वर्ष फिल्म बनाउने

फिल्मीखबर, काठमाडौं, 2024/12/04

 

यतिबेला अघिल्ला पुस्ताका स्थापित कलाकारहरुको कमब्याकको लहर चलेको छ । राजेश हमाल, विराज भट्ट, राजबल्लभ कोइराला जस्ता कलाकारहरुले कमब्याक गरिसकेको अवस्थामा अब ‘एक्सन स्टार’को रुपमा कहलिएका निखिल उप्रेती पनि करिब ५ वर्षपछि फिल्ममा फर्किने तयारीमा जुटेका छन् । उनले अर्को वर्ष आफ्नै निर्देशनमा फिल्म बनाउन लागेका हुन् ।

हालै एक अन्तर्वार्तामा निखिलले आगामी जेठबाट छायांकन सुरु गरिने बताएका छन् । ‘म जेठबाट फिल्मको छायांकन गर्छु होला,’ उनले भने, ‘यो द्वन्द्व (एक्सन)मा आधारित फिल्म हुनेछ । यसको मतलब यसमा सिर्फ द्वन्द्व छैन । पहिला चाहिँ म सिर्फ द्वन्द्व गर्थेँ । र, मेरो द्वन्द्वमा कथा हालिन्थ्यो । अब मैले बनाउने फिल्मको कथामा द्वन्द्व हुन्छ ।’ फिल्म द्वन्द्वप्रधान भए पनि त्यसले युवापुस्तालाई धेरै कुरा सिकाउने उनको दाबी छ ।

उनका अनुसार फिल्म सुपरहिरो पात्रमा आधारित हुनेछ । तर, फिल्मको सुपरहिरो एकदमै ‘इनोसेन्ट’ (निर्दोष) रहेको उनी बताउँछन् । ‘मेरो फिल्मको सुपरहिरो एकदमै ‘इनोसेन्ट’ छ । ठ्याक्कै मजस्तै छ । उसमा सुपरपावर त आयो तर मुद्धा नै छैन,’ उनी अगाडि भन्छन्, ‘फिल्ममा हाम्रो कल्चरलाई जोड दिनेछु । नेवारी भाषालाई बढी प्रयोग गर्ने मेरो कोसिस छ ।’

नेपालमा विदेशी फिल्मको प्रभाव निस्तेज पार्न आफ्नो सुपरहिरो फिल्मले भूमिका खेल्ने उनको विश्वास छ । भन्छन्, ‘विदेशी फिल्मले नेपालबाट करोडौं लिएर जान्छन् । त्यति पैसा विदेशबाट नेपाल ल्याउनलाई हाम्रा नेपालीहरुले खाडीमा धेरै दुःख गर्नुपर्छ । हामी मनोरञ्जनको नाममा त्योभन्दा ठूलो रकम विदेश पठाइरहेका छौं । यसैले विदेशी फिल्मको प्रभावलाई निस्तेज पार्नु हाम्रो दायित्व बन्छ । अबको मेरो फिल्म त्यो हतियार हुनेछ ।’

निखिल लामो समय फिल्ममा काम नगर्नुलाई भने आफ्नो ‘डिजाइन’ मान्छन् । ‘मैले लामो समय फिल्म गरिनँ । यो मेरो ‘डिजाइन’ नै थियो,’ उनी भन्छन्, ‘मैले ‘पिंजडा’पछि यति धेरै फिल्म गरेँ कि सयवटासम्म त सासै फेरिएनभन्दा पनि हुन्छ । एक विन्दूमा त म आफैंलाई लागेको थियो कि म हिरो बन्नलाई जन्मिएको होइन । यो त बहुत सानो काम हो । मलाई यही बनेर मर्नु पनि थिएन ।’