९ वर्षअघि प्रदर्शनमा आएको ‘रेशम फिलिली’को दोस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म ‘फेरि रेशम फिलिली’को सम्पूर्ण छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा ३५ दिन खिचेपछि मंगलबार फिल्म ‘प्याकअप’ भएको हो । फिल्मलाई निरोज महर्जनले निर्देशन गरेका हुन् ।
‘रेशम फिलिली’मा विनय श्रेष्ठ, कामेश्वर चौरासिया र मेनुका प्रधान मुख्य भूमिकामा थिए । दोस्रो श्रृंखलामा भने मेनुका दोहोरिएकी छैनन् । अभिनेत्रीको रुपमा यसपटक सुपुष्पा भट्टले अभिनय गरेकी छन् । यसमा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको पनि अभिनय छ ।
गत वर्षको सफल फिल्म ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्माता एनी थापा हुन् । सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् ।