‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा सुनामी ल्याएपछि त्यसको भयले दुई चरणमा ट्रेलर समेत सार्वजनिक भइसकेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन नै स्थगन गरियो । फिल्मलाई गत कात्तिक ३० गते प्रदर्शनको तयारी गरिएको थियो । अब यो फिल्म आगामी माघ ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार निर्माताले नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् ।
यो फिल्मका निर्देशक दीपेन्द्र गौचन हुन् । यो उनको पहिलो निर्देशकीय फिचर फिल्म हो । करिब ३२ वर्षअघि उनको निर्देशनमा बनेको डकु-ड्रामा ‘उजेली’ निकै चर्चित मानिन्छ । उनले ‘हाम्रो मुमिन’ डकु-ड्रामाको पनि निर्देशन गरेका थिए । ‘केटी हराएको सूचना’मा उनी स्वयंको निर्माण तथा लेखन छ । कार्यकारी निर्माता भने नकिम उद्दिन हुन् ।
फिल्ममा नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् भने सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र लगायतको पनि अभिनय छ । विशेष भूमिकामा भने अमितेश शाह छन् । फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व तथा दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत छ ।