मिति : २०८१ मंसिर २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ वर्षमा राजेश हमाल, विपिन र समीरबीच भिडन्तको सम्भावना

फिल्मीखबर, काठमाडौं, 2024/12/05

rajesh hamal, bipin karki and samir bhatta

 

दशैं-तिहारपछि फिल्म रिलिजका लागि नेपाली नयाँ वर्ष पनि उपयुक्त समय मानिन्छ । विदा नभए पनि नयाँ वर्षमा हलमा दर्शकीय आकर्षण अक्सर राम्रो देखिन्छ । यसैले वर्षेनि नयाँ वर्षमा फिल्म रिलिजको ठूलै चाप हुने गर्छ । आगामी नयाँ वर्ष (२०८२)मा पनि ‘हेभिवेट’ भिडन्तको सम्भावना देखिएको छ । सम्भवतः त्रिपक्षीय भिडन्त हुनसक्छ । त्यो पनि मल्टीस्टारर फिल्मबीच । ती फिल्म हुन्, ‘नरसिंहा अवतार’, ‘बलिदान’ र ‘कर्मा’ ।

सौरभ चौधरीको निर्देशनमा बन्न लागेको ‘कर्मा’ले चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकेको छ । अर्थात् नयाँ वर्षको तीन दिनअघि फिल्म रिलिज हुनेछ । योबाहेक ‘नरसिंहा अवतार’ र ‘बलिदान’को भने आधिकारिक रुपमा प्रदर्शन मिति घोषणा गरिएको छैन । तर, दुवै फिल्मका निर्माता केही दिनभित्रमा नयाँ वर्षलाई प्रदर्शन मिति घोषणा गर्ने तयारीमा रहेको स्रोतको दाबी छ ।

‘कर्मा’को छायांकन यही मंसिर अन्तिम साताबाट सुरु गरिँदैछ भने ‘नरसिंहा अवतार’ र ‘बलिदान’को आधाभन्दा बढी छायांकन पूरा भइसकेको छ । रोचक कुरा के छ भने यी तीनवटै एक्सन प्रधान फिल्म हुन् । एउटै मितिमा एउटै जनराका तीन फिल्म एकसाथ रिलिज हुनु व्यापारिक हिसाबले घातक मानिन्छ । किनकि, यो अवस्थामा कुनै फिल्मले पर्याप्त शो पाउँदैनन् । र, दर्शक पनि बाँडिन्छन् । जसले गर्दा व्यापार डामाडोल बन्न पुग्छ । यद्यपि, भिडन्तले दिलाउने चर्चा भने राम्रै हुनसक्छ ।

यसअघि नयाँ वर्षलाई लक्षित गर्दै चैत २९ गतेलाई अभिनेता सौगात मल्लको अभिनय रहने फिल्म ‘कल्ली’को पनि प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, विभिन्न कारणले छायांकनमा निस्कन ढिलाई भएपछि अब यो फिल्म पूर्वघोषित मितिमा रिलिज नहुने निश्चित प्रायः छ । यद्यपि, निर्माताले भने यसको पुष्टि गरेका छैनन् ।

‘नरसिंहा अवतार’ अभिनेता राजेश हमालको कमब्याक फिल्म हो । ‘बलिदान’मा भने समीर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन् । त्यस्तै, ‘कर्मा’मा विपिन कार्की र उपासना सिंह ठकुरीको अभिनय रहनेछ । यसरी हेर्दा तीनवटै फिल्म कलाकारको हिसाबले कमजोर देखिँदैनन् । अब भिडन्त भएको खण्डमा बक्स अफिसमा कसको कति शक्ति देखिन्छ, त्यो सबैभन्दा महत्त्वपूर्ण हुनेछ ।

Most Visited News (monthly)