मिति : २०८१ मंसिर २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खलनायक २’को तयारीमा जुटे रोज, चन्द्र पन्तले गर्नेछन् निर्देशन

फिल्मीखबर, काठमाडौं, 2024/12/06

rose rana and chandra panta

 

एक समयका सफल निर्माता रोज राणाले २०७६ सालमा आफ्नो डेढ दशकअघिको सुपरहिट फिल्म ‘खलनायक’को दोस्रो श्रृंखला निर्माणको घोषणा गरेका थिए । तर, त्यही समयमा कोरोना महामारी फैलिएपछि फिल्म बन्न सकेन । पछि रोज प्रदेश सांसदका लागि चुनावमा होमिए । चुनाव जितेर मन्त्री समेत भइसकेका उनी अब भने ‘खलनायक २’ निर्माणको तयारीमा जुटेका छन् ।

शुक्रबार रोजले फिल्मका लागि निर्देशक चयन गरेका छन् । उनले ‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्र पन्तलाई निर्देशनको जिम्मेवारी सुम्पिएका हुन् । यद्यपि, दुवै पक्षबीच कागजी सम्झौता हुन बाँकी छ । द्वन्द्व निर्देशनको रुपमा स्थापित चन्द्रले केही भोजपुरी फिल्म समेत निर्देशन गरिसकेका छन् । यसअघि ‘खलनायक २’लाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्ने जनाइएको थियो ।

निर्देशक चयनसँगै शुक्रबार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत पनि लिइएको छ । आगामी माघबाट छायांकन सुरु गरेर फिल्मलाई अर्को वर्षको दशैं अथवा तिहारमा रिलिज लक्ष्य राखिएको छ । एक्सन र लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्ममा अहिलेसम्म कलाकार भने निश्चित भएका छैनन् । यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेकाले चाँडै कलाकार छनोट प्रक्रिया अगाडि बढ्ने निर्माता राणाले बताए ।

प्राप्त जानकारी अनुसार फिल्ममा तीनजना नायक रहनेछन् । अभिनेत्री पनि तीनजना रहन सक्ने प्रवल सम्भावना छ । खलपात्रमा भने बलिउडबाट कलाकार झिकाउने तयारीमा निर्माण टिम छ । ठूलो क्यानभासमा निर्माण गर्न लागिएको फिल्ममा दयाराम पाण्डेको गीत रचना रहनेछ । ‘खलनायक’मा उनले लेखेको ‘मागेर पाउने भए म’ गीत लोकप्रिय मानिन्छ ।

‘खलनायक’मा निखिल उप्रेती, विराज भट्ट र झरना थापा मुख्य भूमिकामा थिए । राजेश हमालको भने विशेष भूमिका थियो । अब ‘खलनायक २’मा उनीहरु दोहोरिन्छन् वा दोहोरिँदैनन्, त्यो दर्शकका लागि पनि चासोको विषय बनेको छ । यसबारेमा निर्माण टिमले कुनै जानकारी गराएको छैन । तर, स्रोतका अनुसार फिल्ममा अहिलेका चल्तीका स्टारलाई लिने तयारीमा निर्माण टिम छ ।

Most Visited News (monthly)