गत वर्षदेखि सुरु भएको ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (किफ)को दोस्रो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच फागुन २४ गतेदेखि महोत्सव सुरु हुने जानकारी गराइयो । रेड चेरी मिडियाको आयोजनामा हुन लागेको महोत्सवको नारा ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ राखिएको छ ।
महोत्सवको उद्घाटन फागुन २४ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुनेछ भने चैत्र १६ गते काठमाडौंमा रहेको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड’ समारोह राखिएको छ । त्यस्तै, चैत्र ३० गते मुगुको रारा तालको प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुने महोत्सव निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए ।
महोत्सवको सद्भावना दूतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री सुरक्षा पन्तलाई नियुक्त गरिएको छ । प्रदीपले ‘प्रकाश’ र सुरक्षाले ‘बुलाकी’मा कर्णाली क्षेत्रको पात्रमा अभिनय गरेका थिए । यसैले उनीहरुलाई महोत्सवको सद्भावना दूतमा नियुक्त गरिएको हो । कार्यक्रममा प्रदीपले कर्णालीको पर्यटन प्रवर्द्धनमा नेपाली फिल्मको पनि ठूलो भूमिका रहेको चर्चा गरे ।
सुरक्षाले ‘बुलाकी’मार्फत आफूले कर्णालीको जीवन अनुभव गरेको बताइन् । उनले कर्णालीको अरु पनि कथामा काम गर्ने इच्छा व्यक्त गरेकी छन् । ‘यो महोत्सवले कर्णालीको कथालाई उजागर गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा कर्णालीलाई चिनाउन सहयोग गर्नेमा म विश्वस्त छु,’ उनले भनिन्, ‘मलाई कर्णालीको जीवनका थप कथाहरूमा पनि अभिनय गर्न मन छ ।’
महोत्सवका निर्देशक चन्दले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई महोत्सवमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना रहेको बताए । उनका अनुसार यसपटक महोत्सवमा जलवायु परिवर्तनका मुद्दाहरूलाई समेत उठाइनेछ । उनी ‘प्रेमगीत ३’का कार्यकारी निर्माता समेत हुन् ।
उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष तथा फिल्म निर्देशक दिनेश डिसी, अभिनेता शिव श्रेष्ठ, नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर रोहिणी प्रसाद खनाल, नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणा लगायतको पनि उपस्थिति रहेको थियो । अभिनेता श्रेष्ठले राज्यले टाढा सम्झेको कर्णालीलाई यो महोत्सवले नजिक बनाउने काम गरेको बताए ।