भारतीय फिल्म ‘पुष्पा २’ प्रदर्शनमा आएपछि कीर्तिमानी घरेलु फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई हलहरुले न्यून शोमा खुम्चाएका छन् । जसप्रति असन्तुष्टि जनाउँदै शनिबार विज्ञप्तिमार्फत् निर्माताले सोमबार (आज)बाट फिल्मको प्रदर्शन रोक्ने घोषणा गरेका थिए । तर, निर्माताको निर्णय मान्न वितरक तयार भएनन् । फिल्मको प्रदर्शन नरोक्न भन्दै वितरकले हलहरुलाई पत्रचार गरे ।
‘सारङ्गी’का निर्माता र वितरकबीच भएको सहमतिपत्रको दुई नम्बर बुँदाले वितरकलाई फिल्मको प्रदर्शन जारी राख्न अधिकार दिएको छ । वितरकले यही बुँदा टेकेर प्रदर्शन नरोक्ने निर्णय गरेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । फिल्मका निर्माता विनोद पौडेलले प्रदर्शन जारी राखे कानुनी उपचारमा जाने चेतावनी समेत दिएका थिए ।
तर, आइतबार भएको छलफलबाट वितरक र निर्माताबीच फिल्मको प्रदर्शनलाई जारी राख्ने सहमति भएको छ । सोमबार बिहान निर्माण कम्पनी सेभेन सिज सिनेमाले विज्ञप्ति जारी गर्दै मंसिर २२ गतेको विज्ञप्तिको सूचना सच्चाउँदै फिल्मलाई निरन्तर प्रदर्शन गराउने निर्णय भएको जनाएको छ । विज्ञप्तिमा फिल्मको प्रदर्शन अधिकार वितरकसँग रहेको पनि उल्लेख छ ।
सोमबारबाट ४०औं दिनमा प्रदर्शनरत ‘सारङ्गी’को ‘पुष्पा २’का कारण शो खुम्चिए पनि अकुपेन्सी राम्रो छ । अब प्रदर्शन जारी रहने भएकाले फिल्मले ५१ दिन मनाउने निश्चित छ । र, ५१ दिनसम्म फिल्मले ५० करोड कमाउने प्रक्षेपण गरिएको छ । फिल्मले अहिलेसम्म ४८ करोडको व्यापार गरिसकेको जनाइएको छ । घरेलु बजारमा यो अंक जोड्ने ‘सारङ्गी’ पहिलो नेपाली फिल्म हो ।