फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले व्यापार र विवाद दुवैमा कीर्तिमानी बनाइरहेको छ । कथा चोरीको आरोपमा फिल्मविरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा निवेदन समेत दर्ता भइसकेको छ । यतिबेला फिल्मको प्रदर्शनलाई लिएर अर्को विवाद चुलिएको छ । फिल्मका निर्माताले शोमा विभेद भएको भन्दै सोमबार (आज)बाट प्रदर्शन स्थगन गर्ने घोषणा गरेका थिए ।
तर, निर्माताको निर्णय वितरकले मान्न तयार भएनन् । दुई पक्षबीच भएको सहमतिपत्रको एक बुँदाले वितरकलाई प्रदर्शन जारी राख्न अधिकार दिएकाले निर्माताले चाहेर पनि फिल्म उतार्न सकेनन् । अन्ततः वितरकसँगको छलफलपछि फिल्मको प्रदर्शनलाई निरन्तरता दिन निर्माता तयार भएका छन् । सोमबार बिहान विज्ञप्तिमार्फत् यसबारेमा जानकारी गराइएको हो ।
तर, फिल्मका निर्माताले प्रदर्शनलाई निरन्तरता दिने भन्दै विज्ञप्ति निकालेको एक घण्टा पनि नवित्दै प्रदर्शक र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले एक विज्ञप्ति जारी गर्दै एउटा ठूलो निर्णय गरेको छ । फिल्मको निर्माता कम्पनी सेभेन सिज सिनेमाले प्रदर्शन स्थगनको विषयमा स्पष्ट धारणा नराख्दासम्म यो कम्पनीका कुनै फिल्म प्रदर्शन नगरिने संघको विज्ञप्तिमा जनाइएको छ ।
‘मंसिर २३ गते सेभेन सिज सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन स्थगित सम्बन्धमा जारी विज्ञप्तिमा नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म सेभेन सिज सिनेमाले यस सम्बन्धमा नेपाल चलचित्र संघलाई आफ्नो धारणा स्पष्ट पार्दैन, तबसम्म सेभेन सिज सिनेमाले निर्माण गर्ने वा वितरण गर्ने कुनै पनि चलचित्र नेपाल चलचित्र संघको सदस्यहरुले प्रदर्शन नगर्ने जानकारी गराउन चाहन्छौं ।’
हलमा प्रदर्शकले वितरकमार्फत मात्र फिल्म प्रदर्शन गर्न पाउने कानुनले व्यवस्था रहेको र यो नियमले प्रदर्शकको व्यवसायको सरोकार वितरकसँग मात्र रहने संघले जनाएको छ । तर, सेभेन सिजले कानुनभन्दा बाहिर गएर संघका सदस्यहरुको मानमर्दन गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सारङ्गी’को उत्साहजनक व्यापारमा प्रदर्शकको पनि महत्त्वपूर्ण योगदान रहेको संघको दाबी छ ।