मिति : २०८१ मंसिर २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपको टिप्पणी- ‘नेपाली फिल्म फेमिली विजनेशजस्तो भयो’

फिल्मीखबर, काठमाडौं, 2024/12/09

Pradeep Khadka_KIFF-Press-Meet-2

 

राम्रो वाक कला भएका अभिनेता हुन्, प्रदीप खड्का । उनी जुनसुकै विषयमा तर्कसहित आफ्नो धारणा राख्न माहिर छन् । तर, कहिले काहीँ उनका अभिव्यक्ति उनकै लागि टाउको दुखाइको विषय बनिरहेको हुन्छ । कहिले फेसबुकमा लेखेको स्टाटस त कहिले विभिन्न कार्यक्रममा बोलेका कुराले धेरैपटक उनको आलोचना भएको छ । आइतबार एक कार्यक्रममा उनले दिएको अभिव्यक्ति पनि यतिबेला चर्चाको विषय बनेको छ ।

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (किफ)को दोस्रो संस्करणको मिति घोषणा कार्यक्रममा प्रदीपले नेपाली फिल्म किराना पसल शैलीको फेमिली विजनेशजस्तो भइरहेको धारणा राखेका थिए । जसले गर्दा आमा निर्देशक, बुबा निर्माता, छोराछोरी हिरो-हिरोइन बनिरहेको उनको तर्क थियो ।

उनले भनेका थिए, ‘आजसम्म नेपाली फिल्म फेमिली विजनेशजस्तो भइरहेको छ । त्यो पनि किराना पसल शैलीको । १० बजेसम्म बुबा पसलमा बस्ने । १० बजे सन्तान स्कूल गएपछि आमा पसलमा बस्ने । ३/४ बजे सन्तान फर्किएपछि उनीहरु पसलमा बस्ने अनि आमा घरभासा गर्न जाने जस्तो शैलीमा नेपाली फिल्म चलिरहेको छ । आमा निर्देशक, बुबा प्रोड्युसर, छोराछोरी हिरो-हिरोइन ।’  

प्रदीपको यो व्यंग्यात्मक टिप्पणीमा बोर्डको सभा हल हाँसोले गुञ्जिएको थियो भने उनी आफैंले पनि हाँसो रोक्न सकेका थिएनन् । कार्यक्रमको प्रमुख अतिथि रहेका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पनि हाँस्दै मुन्टो हल्लाएर प्रदीपको तर्कमा समर्थन जनाएका थिए । प्रदीपको उक्त टिप्पणी सन्तानलाई लिएर फिल्म बनाइरहेका आमाबुबाप्रति लक्षित थियो ।

नेपाली फिल्मलाई विजनेशको रुपमा हेरिनुपर्ने प्रदीपको धारणा छ । त्यसका लागि उनी कर्पोरेट कल्चर स्थापित हुन जरुरी देख्छन् । उनी भन्छन्, ‘जब हामीले फिल्ममा कर्पोरेट कल्चर स्थापित गर्छौं, त्यो दिन डिजर्भिङले अवसर पाउँछन् । कर्पोरेट कल्चरले मैले यति लगानी गर्दा रिटर्न कति आउँछ भनेर सोच्छ । रिटर्न आउँछ भने लगानी गर्छ नभए गर्दैन ।’ उनी नेपाली फिल्म क्षेत्रमा कर्पोरेट कल्चर र पोलिसी लेभलमा काम गर्न जरुरी रहेको ठान्छन् ।

प्रदीपले नेपाली फिल्मले शो नपाउने समस्याको समाधानका लागि कोटा सिस्टम लगाउन जरुरी रहेको पनि औंल्याए । ‘हामीले ‘प्रकाश’को बेला शो पाएन भनेर धेरै भन्यौं । यो समस्या समाधान गर्न एउटा पोलिसी बनाउन जरुरी छ,’ उनले भने, ‘कोटा सिस्टम हाम्रो नेपालमा धेरै छ । ३०/३५ प्रतिशत स्क्रिनमा शुक्रबार र शनिबार नेपाली फिल्मलाई आरक्षण गर्ने हो भने तीनवटा स्क्रिन भएको ठाउँमा नेपाली फिल्मले एउटा स्क्रिन अनिवार्य पाउँछ । त्यो हुँदा शोको समस्या नै हुँदैन ।’

Most Visited News (monthly)