गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’बाट निर्देशनमा डेब्यु गरेका अर्जुन सुवेदीले आफ्नो दोस्रो फिल्म ‘सोल्टिनी’को निर्माण घोषणा गरेका छन् । सोमबार घोषणा टिजर र फर्स्टलुक पोस्टरमार्फत् फिल्मका मुख्य कलाकार र कथावस्तुबारे जानकारी गराइयो । अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूलाई लिएर बन्न लागेको फिल्मले जातीय भेदभाव र वियोगान्त प्रेमकथा भन्नेछ ।
सार्वजनिक पोस्टरमा प्रकाश र परीक्षा भावुक मुद्रामा प्रस्तुत छन्, जसले उनीहरुबीच विछोड हुन लागेको संकेत गर्छ । घोषणा टिजरमा भने चर्चित ‘स्टोरी टेलर’ साइग्रेस पोखरेलले फिल्मको भाव बुझाउने कथावाचन गरेका छन् । त्यसपछि प्रकाश र परीक्षाको पात्र परिचय दिँदै उनीहरुबीच अन्तिमपटक भेट हुँदाको मर्मस्पर्शी संवाद समावेश छ ।
टिजरमा उल्लेख भएअनुसार फिल्ममा प्रकाश ‘भीमसेन पोखरेल’ र परीक्षा ‘दिलासा राई’को भूमिकामा प्रस्तुत हुनेछन् । कथा भने भोजपुरको गाउँको हुनेछ । फिल्ममा प्रकाश र परीक्षाबाहेक अन्य कलाकारहरु निश्चित भएका छैनन् । आगामी पुष १५ गतेबाट छायांकनको तयारी गरिएको फिल्मलाई २०८२ सालको असोज ३ गते (संविधान दिवस) प्रदर्शन गरिने जनाइएको छ ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको फिल्मको निर्मातामा रेजिना विष्ट र संसार चौलागाईं छन् । फिल्मलाई नेपालमा आरआर फिल्म्स र अन्तर्राष्ट्रिय बजारमा नेप सिनेले वितरण गर्ने निश्चित भइसकेको छ ।