घरेलु बक्स अफिसमा कीर्तिमानी व्यापार गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ एकपछि अर्को विवादको चंगुलमा फसिरहेको छ । कहिले कथा चोरीको आरोप लाग्छ । कहिले निर्माताले शोमा विभेद भएको भन्दै फिल्मको रिलिज नै रोक्ने घोषणा गर्छन् । यो निर्णयका कारण ‘सारङ्गी’ निर्माण कम्पनीको कुनै पनि फिल्म अब प्रदर्शकले हलमा नचलाउने घोषणा गरेका छन् ।
फिल्मको रिलिजलाई लिएर निर्माता र प्रदर्शकबीच पैंठेजोरी चलिरहँदा फिल्मको निर्माण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टका सञ्चालकबीच नै फाटो आएको छ । कम्पनीका दुई सञ्चालक प्रतिक पौडेल र रमेश ढकालले वितरक कम्पनीद्वय ब्यांकटेस इन्टरटेनमेन्ट र टी-फोक फिल्म्सलाई सोमबार पत्र लेख्दै फिल्मको बाँकी भुक्तानी रोक्न आग्रह गरेका छन् ।
पत्रमा भनिएको छ, ‘हाल उक्त चलचित्रको शेयर रकम भुक्तानी सेभेन सिज सिनेमाको नाममा जम्मा भइरहेको जानकारीमा आएको हुँदा हालसम्म भएको भुक्तानीको जानकारी गराएर बाँकी भुक्तानी रोक्का गरि यस कम्पनीको हामी सञ्चालकहरुको रोहवरमा फाइनल हिसाब किताब गरि सम्बन्धित हाम्रो संयुक्त बैंक खाता रहेको कम्पनीमा मात्र भुक्तानी गर्नुहुन अनुरोध छ ।’
सेभेन सिज इन्टरटेनमेन्टको स्ट्याम्प लगाइएको उक्त पत्र सेभेन सिज सिनेमा, बाँसुरी फिल्म्स, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डमा पनि पठाइएको छ । त्यसमा सञ्चालकद्वय प्रतिक र रमेशले चलचित्र विकास बोर्डले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)लाई पठाएको ‘सिफारिस पत्र’ पनि समावेश गरेका छन्, जसमा ‘पूर्णबहादुरको सारङ्गी’को निर्माण कम्पनीको नाम सेभेन सिज इन्टरटेनमेन्ट उल्लेख छ ।
केही दिनअघि सेभेन सिज सिनेमाको लेटर प्याडबाट फिल्मको प्रदर्शन स्थगन गर्ने घोषणा गरिएको थियो । र, सोमबार सोही लेटर प्याडबाट प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको जनाइएको थियो । तर, सोमबार प्रतिक र रमेशले वितरकलाई पठाएको पत्रमा सेभेन सिज इन्टरटेनमेन्टबाट फिल्म निर्माण भएकाले सेभेन सिज सिनेमाको नाम भइरहेको भुक्तानी रोक्न भनिएको छ । यसबाट के देखिन्छ भने फिल्मको निर्माण एउटा कम्पनीबाट भएर रकम भुक्तानी अर्को कम्पनीमा भइरहेको छ ।
सेभेन सिज इन्टरटेनमेन्टको सञ्चालकमा प्रतिक र रमेशसहित विनोद पौडेल छन् । प्रतिक र रमेशले अर्को कम्पनी (सेभेन सिज सिनेमा)को नाममा भइरहेको भुक्तानी रोक्न वितरकलाई पत्र उठाएपछि सञ्चालकहरुबीचको विवाद सतहमा आएको हो । बोर्डले सेभेन सिज इन्टरटेनमेन्टबाट फिल्मको निर्माण भएको जनाउँदै सेन्सर बोर्डलाई पत्र पठाएको भेटिएपछि अब सेभेन सिज सिनेमाको नाममा भइरहेको फिल्मको शेयर रकम भुक्तानी वितरकले रोक्न सक्ने देखिन्छ ।