मिति : २०८१ मंसिर २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युट्युबमा ‘कार्साङ’को टिजरलाई प्रशंसाको ओइरो

फिल्मीखबर, काठमाडौं, 2024/12/10

Dayahang Rai

 

अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेको फिल्म ‘कार्साङ’ आगामी पुष २६ गतेबाट प्रदर्शनको तयारीमा छ । यसमा उनले शेर्पा समुदायको धामीको भूमिका निभाएका छन् । उनको करिअरमै यसकिसिमको भूमिका पहिलो हो । यसैले पनि फिल्मप्रति दर्शकमा चासो देखिएको छ । यसमा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङलेखुको पनि मुख्य भूमिका छ ।

फिल्मको ६ दिनअघि टिजर सार्वजनिक गरिएको थियो, जसलाई युट्युबमा प्रशंसाको ओइरो देखिएको छ । ८ लाख भ्यूजको सम्मुखमा रहेको टिजरलाई लगभग शतप्रतिशत सकारात्मक प्रतिक्रिया प्राप्त छ । कतिले दयाहाङ र जितुको अभिनयको प्रशंसा गरेका छन् भने कतिले नेपाली समाजको वास्तविक कथालाई फिल्मले उठाएको प्रतिक्रिया जनाएका छन् ।

युट्युबमा टिजरले उत्साहजनक प्रतिक्रिया पाएपछि निर्देशक तथा लेखक यम शेर्पाले खुसी व्यक्त गरेका छन् । ‘जुन समुदायको संस्कृतिलाई हामीले देखाएका छौँ, त्यसलाई दर्शकले मन पराउनुभएको छ । धेरैपछि शेर्पा समुदायको कथा हेर्न पाइने भयो भन्ने उत्सुकता दर्शकमा देख्दा खुसी लागेको छ,’ उनले भने, ‘टिजरले दर्शकमा बढाएको अपेक्षालाई फिल्मले निराशामा बदल्ने छैन ।’

सार्वजनिक टिजरमा ग्रामीण परिवेश र शेर्पा समुदायको सांस्कृतिक र धार्मिक पक्षलाई देखाउन खोजिएको छ । जसमा धामी बनेका दयाहाङ राईले गरिबीका कारण जीवन चलाउन गरेको संघर्षलाई प्रस्तुत गरिएको छ । उनको साथीको भूमिकामा रहेका जितुको सन्तान नहुँदा श्रीमतीसँग भएको नोकझोंकलाई पनि टिजरमा रोचक शैलीमा देखाइएको छ ।

यसमा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा छिरिङ शेर्पा, दीलिप पन्त, बाल कलाकारहरु राशी लिम्बु, सोहन थापा लगायतको पनि अभिनय रहेको छ । फिल्मका निर्माता तथा छायाँकार पुरुषोत्तम प्रधान हुन् । यसमा सह-निर्माताको रुपमा गोविन्द बोहरा छन् भने कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा छन् ।

 

Most Visited News (monthly)