अभिनेत्री सुरक्षा पन्त र अभिनेता प्रदीप खड्काले पहिलोपटक फिल्ममा सहकार्य गरेका छन् । त्यो फिल्म हो, ‘पिताम्बर’ । तर, यसमा उनीहरुको जोडी भने बाँधिएको छैन । न त स्क्रिनमा नै एकसाथ देखिनेछन् । यो फिल्मको छायांकन सकाएर यसै साता काठमाडौंमा आयोजित एक फेस्टिभलको कार्यक्रममा सहभागी भएका उनीहरुले एकअर्काको खुलेर तारिफ गरेका थिए ।
‘प्रकाश’ र ‘पूजार सार्की’पछि सुरक्षा प्रदीपको फ्यान नै बनेकी रहेछिन् । तर, पहिला भने उनलाई लाग्थ्यो रे, ‘प्रदीप र म नितान्त फरक व्यक्ति हौं ।’ यसको कारणबारे उनी भन्छिन्, ‘प्रदीपलाई ‘मेन स्ट्रिम प्याटन’को फिल्ममा देखिरहेको अनि मैले कन्टेन्ट बेस धारमा काम गरिरहेकाले हामी नितान्त फरक व्यक्तिहरु हो जस्तो लाग्थ्यो । हामी त्यतिधेरै एकअर्कासँग ‘कनेक्टेड’ पनि थिएनौं ।’
पहिला प्रदीपको अभिनयलाई लिएर सुरक्षामा एक किसिमको धारणा पनि बनेको रहेछ । तर, पछिल्लो समय प्रदीपले गरेको कामबाट उनी प्रभावित छिन् । ‘पहिला म उसको कामहरु त्यति हेर्दिनँ थिएँ । उसको अभिनयलाई लिएर मेरो एक किसिमको धारणा बनेको थियो,’ उनी भन्छिन्, ‘तर उसले जसरी आफूलाई रुपान्तरण गर्दै गयो, अहिले त ऊ अभिनयमा नेपालको टपमै पर्छ जस्तो लाग्छ । जसरी प्रदीपले पात्रमा आफूलाई ढाल्न सक्छ, त्यसले गर्दा म उसको फ्यान भएकी छु ।’
सुरक्षाले प्रदीपको बौद्धिताको पनि प्रशंसा गरिन् । उनलाई प्रदीप आफ्नो छायाँ जस्तो लाग्छ रे ! भन्छिन्, ‘बौद्धिक स्तरमा पनि प्रदीपले धेरै कुरा बुझेको छ । उसको अगाडि जुनसुकै प्रश्न गर्दा पनि एकदमै राम्रोसँग उत्तर दिन सक्छ । कताकता मेरो मिरर इमेज (छायाँ) जस्तो पनि लाग्छ । प्रदीप आँटिलो मान्छे हो । ऊसँग भविष्यमा सहकार्य गर्न एकदमै उत्साहित छु ।’
प्रदीपले पनि सुरक्षाको प्रशंसा गर्न कञ्जुसाइँ गरेनन् । सुरक्षालाई टेलिभिजनको भिजे हुँदादेखि आफूले चिनेको स्मरण गर्दै उनले भने, ‘उहाँलाई टिभीमा देख्दा म पनि यस्तै हुन पाए हुन्थ्यो भन्ने सोच्थेँ । उहाँ बोल्ड स्वभावको हुनुहुन्छ । कोही रिसाउला र कोही खुसी होला भन्ने हिसाबले बोल्नुहुन्न । अभिनय त भन्नै परेन ।’ उनले पनि सुरक्षासँग स्क्रिन सेअर गर्ने आफ्नो चाहना रहेको बताए ।