गत कात्तिक ३० गतेबाट नेपालमा प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’को ओटीटी र स्याटेलाइट (टिभी) राइट्स भारतीय कम्पनी जी-नेटवर्कले खरिद गरेको छ । बुधबार फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीसँग जी-नेटवर्कका अधिकारीले दुईवटा राइट्सको खरिद सम्झौता गरेका हुन् । यसको जानकारी नीता र हरिहरले फेसबुकमार्फत् गराएका छन् ।
फिल्मको जापान प्रदर्शन सकाएर सिधै भारत पुगेका हरिहर र नीता बुधबार सम्झौताका लागि मुम्बईस्थित जी-नेटवर्कको मुख्यालय पुगेका थिए । उनीहरुको साथमा ‘ह्रस्व दीर्घ’का छायाँकार कवीरलाल पनि थिए, जो बलिउडका प्रख्यात छायाँकार हुन् । जी-नेटवर्कमा फिल्मको ओटीटी र स्याटेलाइट राइट्स बिक्री गराउन कवीरलालको पनि ठूलो भूमिका रहेको बुझिएको छ ।
जी-नेटवर्कले फिल्मको दुईवटा राइट्स कति मूल्यमा खरिद गरेको हो भन्ने खुलाइएको छैन । तर, उक्त रकम ठूलो रहेको स्रोत बताउँछ । जी-नेटवर्क भारतको ठूलो मिडिया समूह हो । विश्वभर ४५ बढी टिभी च्यानल सञ्चालन गरिरहेको यो कम्पनीको ओटीटी प्लाटफर्म भने ‘जी फाइभ’ हो । यसले बलिउड र साउथ फिल्मको ओटीटी तथा स्याटेलाइट राइट्स खरिद गर्दै आइरहेको छ ।
जी-नेटवर्क अन्तर्गतका टेलिभिजन र ‘जी फाइभ’ ओटीटी प्लाटफर्ममा रिलिज हुने ‘ह्रस्व दीर्घ’ पहिलो नेपाली फिल्म हुनेछ । यो नेपाली फिल्मका लागि ठूलो उपलब्धि हो । यसले नेपाली फिल्मलाई भारतका टेलिभिजन र ओटीटीमा रिलिजका लागि बाटो खुला गरेको छ । प्राप्त जानकारी अनुसार, जी-नेटवर्कले ‘ह्रस्व दीर्घ’को हिन्दी भर्सनको राइट्स खरिद गरेको हो ।
यो कम्पनीले फिल्मको राइट्स खरिद गर्नुमा दक्षिण भारत (साउथ)का चर्चित कलाकारहरुको अभिनय मुख्य कारण मानिएको छ । यसमा ब्रह्मानन्दम, अली, सुनिल बर्मा, प्रदीप रावत र कबीर दुहन सिंहको अभिनय छ । चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा नेपाली कलाकारहरु नीता र हरिहरसहित विपना थापा, रेखा थापा, सञ्चिता लुइँटेल, किरण केसी लगायतले अभिनय गरेका छन् ।