मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपक-दीपाबाट फुत्कियो ‘माग्ने राजा’, अब कसले बनाउँदैछ ?

फिल्मीखबर, काठमाडौं, 2024/12/12

Kedar Prasad Ghimire

 

लामो समयदेखि चर्चामा रहेको नाम हो, ‘माग्ने राजा’ । दुई वर्षअघि दीपकराज गिरी र दीपाश्री निरौलाले यो नाममा फिल्म बनाउन लागेका थिए । तर, पछि यसैको स्क्रिप्टमा ‘छक्कापञ्जा ४’ बनाए । यद्यपि, उनीहरु ढिलोचाँडो ‘माग्ने राजा’ नाममा फिल्म बनाउने तयारीमै थिए । तर, चलचित्र विकास बोर्डबाट निर्माण इजाजत नलिएकाले अब यो नाम दीपक-दीपाको हातबाट फुत्किएको छ ।

निर्माता मुनाल घिमिरेले ‘छक्कापञ्जा’ समूहका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई मुख्य भूमिकामा लिएर ‘माग्ने राजा’ नाममा फिल्म बनाउने भएका छन् । यसै साता बोर्डमा शीर्षक दर्ता गरेर बिहीबार थिम पोस्टरमार्फत् फिल्मको निर्माण घोषणा गरियो । ऋषि लामिछानेको निर्देशनमा तयार हुन लागेको फिल्मको कथा केदारमा केन्द्रित हुने जनाइएको छ ।

‘माग्ने राजा’ नाम फुत्किएपछि केदारसँग दीपक-दीपा रुष्ट रहेको चर्चा छ । केदारले नै अनुमति दिएर यो नाममा फिल्म बन्न लागेको हुनसक्ने बुझाइ उनीहरुको छ । तर, केदारलाई पनि बोर्डमा शीर्षक दर्ता गरेपछि मात्र निर्माताले जानकारी गराएको स्रोत बताउँछ । बोर्डमा शीर्षक नै दर्ता भइसकेपछि केदारले पनि आपत्ति जनाएनन् । उनले फिल्मको पोस्टर फेसबुकमा राखिसकेका छन् ।

फिल्मका लेखक समीप्यराज तिमल्सिनाले नियोजित हिसाबले ‘माग्ने राजा’ नाममा फिल्म बनाउन नलागेको प्रष्ट पारेका छन् । उनले भनेका छन्, ‘फिल्मको कथालाई यो नामले न्याय गर्ने देखियो । त्यसबेलासम्म यो नाममा अरुले फिल्म बनाउन लागेको छ भन्ने कुरा हाम्रो दिमाग नै आएन । बोर्डमा पनि नाम दर्ता भएको रहेनछ । त्यसपछि हामीले दर्ता गर्‍यौं । यो कुनै नियोजित होइन ।’

आगामी फागुन १ गतेबाट छायांकनको तयारी गरिएको ‘माग्ने राजा’ कमेडी कथावस्तुमा बन्न लागेको शीर्षकबाट प्रष्ट हुन्छ । आरम्भ प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा केदारबाहेक अन्य कलाकार निश्चित भइसकेका छैनन् । यो फिल्मबाट निर्देशक लामिछानेले आठ वर्षपछि कमब्याक गर्न लागेका हुन् । पछिल्लो पटक उनले सन् २०१६ मा प्रदर्शन भएको ‘किस्मत २’ निर्देशन गरेका थिए ।