अभिनय विधामा आधारित भएर सुरु हुन लागेको रियालिटी शो ‘एक्टिङ स्टार’मा तीनजना निर्णायक रहने भएका छन् । बुधबार शोको निर्माण कम्पनी महक मिडिया नेटवर्कले एक पोस्टर सार्वजनिक गर्दै अभिनेता तथा निर्देशक नीर शाह, रंगकर्मी तथा फिल्म निर्देशक अनुप बराल र अभिनेत्री ऋचा शर्मा निर्णायक (जज) रहने जानकारी गराएको हो ।
नीर शाह पहिलो पटक रियालिटी शोको निर्णायक बन्न लागेका हुन् । उनलाई नेपाली फिल्म क्षेत्रमा ‘भिष्म पितामह’ भन्ने गरिन्छ । अनुप र ऋचाले भने यसअघि रियालिटी शोको निर्णायकको अनुभव लिइसकेका छन् । अनुप ‘पोयट आइडल’ र ऋचा ‘कमेडी च्याम्पियन’को निर्णायकमा थिए । अब उनीहरुले ‘एक्टिङ स्टार’मा सहभागी हुने प्रतिस्पर्धीहरुको अभिनय मुल्यांकन गर्नेछन् ।
डिजिटल अडिसनमार्फत एक हजार बढीले भिडियो खिचेर पठाइसकेको शोका निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार डिजिटल अडिसनमा बच्चा, युवा र वृद्धवृद्धाले समेत भाग लिएका छन् । यसमा छनोट हुनेलाई उनीहरुकै ठाउँमा पुगेर प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको निर्देशन भण्डारीले बताए । ‘एक्टिङ स्टार’को विजेताले नगद पुरस्कार राशीसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन् । धेरैपछि नेपालमा अभिनयसम्बन्धी रियालिटी शो आउन लागेको हो ।