
साउथका अभिनेता अल्लू अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । उनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २: द रूल’को प्रिमियर शोमा भएको दर्दनाक घटनापछि यो कदम चालिएको भारतीय मिडियाहरूले बताएका छन् ।
फिल्म रिलिजको अघिल्लो दिन (डिसेम्बर ४) मा, हैदराबादको संध्या थिएटरमा अल्लू अर्जुनको अप्रत्याशित आगमनले उत्साहित प्रशंसकहरूको भीड अनियन्त्रित भएको थियो । भीडमा भागदौड मच्चिँदा ३५ वर्षीया रेवती नाम गरेकी महिला र उनका १३ वर्षीय छोरा श्री तेज गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल अस्पताल लगिएको भए पनि रेवतीको निधन भयो भने उनका छोराको अवस्था अझै गम्भीर छ ।
हाल, रेवतीका पतिको उजुरीका आधारमा प्रहरीले अल्लू अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध मुद्दा दर्ता गरेको छ । आरोप छ, थिएटर व्यवस्थापनले भीड नियन्त्रणका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाएको थिएन र अल्लू अर्जुनको आगमनबारे पूर्वसूचना नदिएका कारण यस्तो दुर्घटना भएको हो ।