अन्तरजातीय प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्म ‘सोल्टिनी’मा कलाकारको लाइनअप बलियो बनिरहेको छ । मुख्य अभिनेतामा प्रकाश सपूत र अभिनेत्रीमा परीक्षा लिम्बूपछि अब ‘तक्मे बुढा’को रुपमा परिचित विल्सन विक्रम राई पनि फिल्ममा अनुबन्धित भएका छन् । उनको भूमिकाबारे भने कुनै जानकारी गराइएको छैन ।
अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको फिल्ममा प्रकाशले ‘भीमसेन पोखरेल’ र परीक्षाले ‘दिलासा राई’को भूमिका निभाउनेछन् । उनीहरुको प्रेम सम्बन्धमा आउने आरोह-अवरोधको कथामा फिल्म केन्द्रित हुनेछ । केही दिनअघि फर्स्टलुक पोस्टर र घोषणा टिममार्फत् फिल्मको कथासारबारे जानकारी गराइएको थियो । आगामी पुष १५ गतेबाट फिल्मको छायांकन सुरु गरिँदैछ ।
प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङ लगायतको पनि अभिनय रहने फिल्ममा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत तथा सुशन प्रजापतिको छायांकन रहनेछ । आगामी वर्ष २०८२ को असोज ३ गते अर्थात् संविधान दिवसको दिनलाई फिल्मको प्रदर्शन मिति घोषणा भइसकेको छ ।
निर्देशक सुवेदीका अनुसार फिल्मले समाजमा विद्यमान जातीय भेदभावलाई उजागर गर्दै यसविरुद्ध आवाज उठाउने र दुई पात्रको अपुरो प्रेमकथा भन्नेछ । फिल्मका निर्माताहरुमा रेजिना बिस्ट र संसार चौलागाईँ तथा सह-निर्माताहरुमा वसन्त कटुवाल र सुजन अधिकारी रहेका छन् । कोशी प्रदेशमा अवस्थित पहाडी जिल्ला भोजपुरको गाउँमा आधारित भएर ‘सोल्टिनी’ बन्ने जनाइएको छ ।