गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरीले आफ्नो नयाँ फिल्म ‘कर्मा’को छायांकन सुरु गरेका छन् । शुक्रबार दाङको घोराहीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा शुभ मुहूर्त गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको ४० दिनसम्म दाङ क्षेत्रमा छायांकन हुनेछ भने एक हप्ता रुकुममा खिचिने जनाइएको छ ।
यो फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव लगायत मुख्य भूमिकामा देखिनेछन् । यसमा विपिन र उपासनाको जोडी बाँधिएको छ । मुकुनले भने नकारात्मक (भिलेन) भूमिका निभाउँदैछन् । उनी पहिलोपटक यसप्रकारको भूमिकामा देखिन लागेका हुन् । विपिन भने एक्सन भूमिकामा प्रस्तुत हुनेछन् । यसका लागि उनले शरीर सुगठित बनाएका छन् ।
फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको ‘कर्मा’मा वसन्त लम्साल निर्मातामा छन् । छायाकंन सुरु हुनुभन्दा अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भइसकेको फिल्म नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गतेबाट प्रदर्शन हुने जनाइएको छ । फिल्म एक्सन प्रधान हुनेछ ।