अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्माको फिल्मी करिअरले एक दशक पूरा गरिसकेको छ । यो अवधिमा दुवैले १० वटा फिल्ममा काम गरिसकेको भए पनि एकअर्कासँग सहकार्य जुर्न सकेको थिएन । अब पहिलो पटक उनीहरु जोडी भएर फिल्म ‘जेरी अन टप’मा एकसाथ देखिँदैछन् । यसमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री जसिता गुरुङको पनि अभिनय छ ।
पहिलो पटक अनमोलसँग सहकार्य गरेकी आँचल उनको स्वभाव र काम गर्ने शैलीबाट प्रभावित भएकी छन् । शनिबार एक र्याम्प शोमा सहभागी भएपछि उनले सञ्चारकर्मीसँगको कुराकानीमा अनमोल नम्र स्वभावको रहेको बताइन् । उनले भनिन्, ‘अनमोलसँग काम गर्दाको अनुभव राम्रो रह्यो । उहाँ एकदमै हम्बल (नम्र) हुनुहुन्छ । के नयाँ गरुँ भनेर सोच्नुहुन्छ ।’
आँचलका अनुसार छायांकनको बेला अनमोल आफ्नै जोनमा बस्ने गरेका हुन्छन् । त्यो पक्ष उनलाई मन परेको छ । ‘सुटिङ सेटमा हाम्रो मुड अन-अफ भइरहन्छ । गफ गर्दागर्दै टेकमा गइहाल्छौं,’ उनी भन्छिन्, ‘अनमोलजी चाहिँ आफ्नै जोनमा बसिरहनुहुन्छ । त्यसले चरित्रमा केही न केही फाइदा अवश्य पनि पुग्छ । उहाँ मलाई व्यक्तिगत र कलाकार दुवै रुपमा मनपर्यो ।’
‘जेरी अन टप’मा काम गर्दा आँचल सबैभन्दा नजिक भने जसितासँग बनेकी छन् । उनी आफूहरुको ‘भाइब्स’ मिलेको बताउँछिन् । ‘जसिता राम्रो ‘ह्यूमन बिइङ’ हो । ऊ र म दुवै ‘टम ब्वाइ’ खालको छौं । कुरा गर्दा पनि हाम्रो ‘भाइब्स’ मिल्यो । कलाकारहरुबीच राम्रो बोन्डिङ बन्न सक्यो भने काम पनि राम्रो हुन्छ । जसिता व्यक्तिगत र व्यावसायिक दुवै हिसाबमा राम्रो छ,’ आँचलले भनिन् ।