हरेक वर्षको महाशिवरात्रिमा नेपाली फिल्महरुबीच महाभिडन्त हुँदै आइरहेको छ । अघिल्लो वर्ष यो पर्वलाई लक्षित गर्दै ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’बीच त्रिपक्षीय भिडन्त भएको थियो । यसपालि पनि ‘हेभिवेट’ भिडन्त हुने भएको छ । ‘मायावी’, ‘लाज शरणम्’ र ‘होस्टेल ३’ गरी तीन फिल्मले महाशिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब अर्को फिल्म पनि थपिएको छ ।
आगामी फागुन १४ गते (महाशिवरात्रि)बाट फिल्म ‘फेरि रेशम फिलिली’ प्रदर्शनमा आउन लागेको हो । बिहीबार प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन् । विनय ९ वर्षअघिको फिल्म ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन् ।
सार्वजनिक पोस्टरमा सुपुष्पाले मुस्कुराउँदै हातमा रातो गुलाब लिएकी छन् भने विनयले आकाशतिर हेर्दै हात जोडेका छन् । यसबाट उनीहरुबीचको प्रेम दर्शाउन खोजिएको छ । ‘रेशम फिलिली’मा भने विनयको जोडी अभिनेत्री मेनुका प्रधानसँग बाँधिएको थियो । यसपटक फिल्ममा मेनुका दोहोरिएकी छैनन् ।
निरोज महर्जनको निर्देशन रहेको फिल्ममा विनय र सुपुष्पासहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको फिल्मलाई यतिबेला सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् । सिनेमा आर्ट र वि मोसन पिक्चर्सबीच निर्माणमा सहकार्य भएको फिल्मको सह-निर्माताको रुपमा एनी थापा छन् ।