यही पुष ५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बम बहादुर’मा अभिनेता सौगात मल्लले विद्रोही भूमिकामा निर्वाह गरेका छन् । केही दिनअघि सार्वजनिक ट्रेलरले पनि उनको चरित्रबारे प्रकाश पार्छ । फिल्मको कथा आफैंले भोगेको जस्तो महसुस भएपछि उनी काम गर्न तयार भएका रहेछन् । र, दर्शकलाई पनि यही महसुस हुने उनको विश्वास छ ।
आइतबार पूर्वी नेपालको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘फिल्मको स्क्रिप्ट पढ्दा मलाई आफैंले भोगेको कथाजस्तो महसुस भएको थियो । म निकै भावुक भएको थिएँ । र, तुरुन्तै यो कथामा काम गर्छु भनेर सोच्न मैले खासै समय लगाइनँ । फिल्म हेर्दा दर्शकलाई पनि यो कथा आफ्नै हो जस्तो लाग्नेछ ।’
अभिनेता मल्ल फिल्ममा आफ्नो पात्र रोचक रहेको बताउँछन् । आफूले अहिलेसम्म यस्तो पात्र नगरेको उनको भनाई छ । भन्छन्, ‘यो कथा कसरी पर्दामा उतार्न सकिन्छ भन्ने थियो । सबैको मिहिनेतले कथाअनुसार नै फिल्म बनेको छ । मेरो पात्र एकदमै रोचक छ, सायद यस्तो पात्रमा मैले अहिलेसम्म काम गरेको छैन । यसैले पनि म निकै उत्साहित छु ।’
फिल्ममा सन् १९८६ मा दार्जिलिङ क्षेत्रमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई उतारिएको लेखक तथा निर्देशक जोन राईले बताए । यो फिल्म बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको उनको भनाई छ । अब खुकुरी र बन्दुकले नभइ दिमागले आन्दोलन गरौँ भन्ने सन्देश पनि फिल्मले दिने उनको विश्वास छ ।
अभिनेत्री अनिशा रसाइलीले फिल्मले सबै मानिस एउटै हुन् पक्षलाई उजागर गर्ने बताइन् । ‘म सिक्किमको भएकोले मलाई त्यति धेरै आइडिया थिएन, जब म यो फिल्म सुट गर्न थालेँ, त्यो लोकेसनमा पुरानो समयमा समस्या भोग्नु भएकाहरूको कुरा सुन्दा डरलाग्दो थियो । मेरो अनुरोध छ कि यो फिल्म जरुर हेर्दिनुस् र त्यो पीडालाई महसुस गर्नुस् । हामी सबै एउटै हौँ,’ उनले भनिन् ।
अर्की कलाकार शान्तिला तामाङले ‘बम बहादुर’बाट आफूले ठूलो आशा बोकेको बताइन् । दार्जिलिङ निवासी उनले भनिन्, ‘नेपाललाई दुःख हुँदा हामीलाई पनि दुख्छ । फिल्ममा जुन कथा उठाएका छौँ, यसले नेपालीलाई पक्कै छुन्छ ।’
बिस्ट ब्रदर्स फिल्म्सको निर्माणमा बनेको फिल्मका निर्माता सञ्जीव सार्की हुन् । लाइन प्रोड्युसरमा भने प्रकाश हमाल छन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा लेखन रहेको फिल्ममा सुजोय कुमार घोष ‘मुन्ना’को छायाङ्कन तथा ज्ञान गुरुङको सम्पादन छ । यसमा संगीत दीपङ्कर सिंह मुखियाको रहेको छ भने म्यूजिक एरेन्जमेन्ट र ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् ।