हास्य कलाकारद्वय केदार घिमिरे र जितु नेपाल कुनै बेला एकै रथका दुई पाङ्ग्राजस्तै थिए । ‘गीताञ्जली’ सिरियलबाट उनीहरुको सहकार्य सुरु भएको थियो । पछि दुवैले अलग-अलग सिरियलमा काम गरे । जब टेलिभिजनको क्रेज खस्कियो, त्यसपछि दीपक-दीपासँग मिलेर उनीहरुले फिल्ममा वर्षौं सहकार्य गरे । यतिबेला भने उनीहरुले आ-आफ्नै हिसाबले काम गर्दै आइरहेका छन् ।
केदार र जितु दुवैको अहिले फिल्ममा राम्रो माग देखिएको छ । केदार त सबैभन्दा महंगा कलाकार नै बनेका छन् । उनले एउटा फिल्मबापत ५० लाखमाथि पारिश्रमिक बुझ्ने गरेको चर्चा छ । जितुको पारिश्रमिक भने अहिलेसम्म सार्वजनिक भएको छैन । तर, बजारको चर्चाअनुसार उनले एक फिल्मबापत १५ लाख हाराहारी पारिश्रमिक लिने गरेका छन् ।
रोचक कुरा के छ भने कुनै बेला जितुले केदारलाई पारिश्रमिक तिरेर ‘गीताञ्जली’ टेलिसिरियलमा खेलाउने गरेका थिए । अहिले उनै केदार नेपाली फिल्मको सबैभन्दा महंगो कलाकार बन्दा जितु खुसी देखिन्छन् । सोमबार एक कमेडी शोमा अतिथि बनेर पुगेका उनले सञ्चारकर्मीसँगको कुराकानीमा ‘गीताञ्जली’ गर्दा केदारलाई तीन सय रुपैयाँ दिने गरेको स्मरण गर्दै भने, ‘त्यसबेला म उहाँलाई बल्लबल्ल तीन सय रुपैयाँ दिन सक्थेँ । आज केदार सबैभन्दा महंगो कलाकार हुनु भएकोमा खुसी लागेको छ ।’
जितु भने पारिश्रमिकलाई त्यति महत्त्व दिँदैनन् रे । उनलाई लाग्छ, ‘भविष्यमा सम्झिने भनेको काम हो, पारिश्रमिक होइन ।’ भन्छन्, ‘म कलालाई पारिश्रमिकसँग दाँज्दिनँ । भोलिका दिनमा मैले गरेको काम मात्र देखिने हो । मैले कति पैसा लिएको थिएँ भन्ने देखिँदैन । यसैले हामी कलाकारले कृतिका लागि काम गर्ने हो । यो मेरो विचार हो ।’
यतिबेला जितुलाई यही पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको आफ्नो नयाँ फिल्म ‘कार्साङ’को प्रवर्द्धनमा भ्याइनभ्याइ छ । यसमा उनको जोडी अभिनेत्री दीया मास्केसँग बाँधिएको छ । उनीहरु दम्पतीको भूमिकामा छन् । फिल्ममा श्रीमान्-श्रीमतीको नोकझोंक दर्शकलाई रमाइलो लाग्ने उनको विश्वास छ । र, यसमा आफूले चाहेको जस्तै अभिनय गर्न पाएकोमा जितु खुसी छन् ।
‘कार्साङ’मा जितुले अभिनेता दयाहाङ राईको साथीको भूमिकामा निभाएका छन् । यसविषयमा सञ्चारकर्मीले उनलाई रोचक प्रश्न गरे- ‘हिट हुन दयाहाङको पछि लाग्नु भएको हो ?’ जवाफमा उनले हाँस्दै भने- ‘यसमा अघिपछि भन्ने केही कुरा छैन । पछि लाग्दा पनि के भयो र ? दयाहाङजी जस्तो कलाकारको पछि लाग्नु नराम्रो हो र ? म सबै कलाकारको पछि लाग्न चाहन्छु ।’