मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

४० लाख पारिश्रमिकबारे विजय भन्छन्, ‘यो मैले बोलेको कुरा होइन’

फिल्मीखबर, काठमाडौं, 2024/12/17

Bijay Baral

 

‘कबड्डी’बाट अभिनेता विजय बरालको फिल्म करिअर सुरु भएको थियो । यसपछि उनले सहायक भूमिकामा थुप्रै फिल्म गरे । हाल प्रदर्शनरत ‘पूर्णबहादुर सारङ्गी’ भने उनको शीर्ष भूमिका रहेको पहिलो फिल्म हो । यसको सफलताले उनको करिअर कायापटल गरेको छ । अहिले उनलाई शीर्ष भूमिकामा लिन निर्माताबीच हानाथाप चलिरहेको छ । र, उनको पारिश्रमिक पनि चर्किएको छ ।

बुझिएअनुसार विजयले ‘पूर्णबहादुर सारङ्गी’का लागि ५ लाख पारिश्रमिक लिएका थिए । त्यसअघि उनले बढीमा ४ लाखमा फिल्म गर्दै आइरहेका थिए । ‘सारङ्गी’को सफलतापछि भने उनलाई ४० लाखसम्म पारिश्रमिकको अफर पुगिरहेको चर्चा छ । मंगलबार मण्डला थिएटरमा नाटक ‘हरि हजुरबा’को विषयमा आयोजित पत्रकार सम्मेलनमा उनको पारिश्रमिकबारे कुरा उठेको थियो । तर, विजय ४० लाख पारिश्रमिकको चर्चाबारे अनविज्ञ देखिए ।

‘यस्तो चर्चा पनि चलिसक्यो ? तर, ३०/४० लाख अफर आएको भन्ने कुरा मैले बोलेको होइन । न त पाएको छु । यो चर्चा होला । यद्यपि, पैसा धेरै आयोस् भन्ने इच्छा त हुन्छ,’ उनी भन्छन्, ‘मैले अहिले स्क्रिप्ट पढ्नै पाएको छैन । पढिसकेपछि डिमान्ड गर्ने एउटा कुरा हो । तर, म धेरै डिमान्ड गर्दिनँ । ठिक्क गर्छु ।’ उनले नाटकबाट भने खाजा खाने पारिश्रमिक मात्र आउने बताए ।

विजय आफूलाई फिल्मबाट अफरै नआउँदा पनि कुनै मतलब नरहेको बताउँछन् । नाटक नै गरेर भए पनि आफू चल्न सक्छु भन्ने उनलाई लाग्छ । भन्छन्, ‘जिरोबाट हिँडेको भएर होला मलाई मतलब नै लाग्दैन । अहिले फिल्मै नआए पनि बालै छैन । रेकर्ड ब्रेक गर्ने फिल्म गरिहालियो, अब नगर्दा पनि केही हुँदैन । टेन्सन नै छैन । नाटकै गरेर पनि चल्छ । त्यसैले बाँच्नलाई गाह्रो छैन । आवश्यकता र बच्चाबच्चीलाई के गर्ने भन्ने चाहिँ अलिकता तनाव हुँदो रहेछ ।’

नाटकबाट उदाएकाले विजयलाई यसप्रति बेग्लै लगाव र झुकाव छ । नाटकमा सानो रोल गर्दा पनि आनन्द लाग्ने उनको अनुभव छ । ‘नाटकमा सानो रोल गर्दा पनि साह्रै आनन्द लाग्छ,’ उनी भन्छन्, ‘मेरो लागि फिल्मजस्तै नाटक पनि ग्रान्ड (भव्य) नै हुन्छ । त्यही ग्रान्डले गर्दा म ‘सारङ्गी’सम्म पुगेँ । म थिएटरमा हुन्थिनँ भने अभिनयको त्यति धेरै चर्चा हुँदैन थियो । मेरो अभ्यास नै पुग्दैन थियो ।’