विश्वकै प्रतिष्ठित अवार्ड मानिने ओस्कारमा यसपटक पनि नेपाली फिल्म छनोट हुन असफल भएको छ । ९७औं ओस्कार अवार्डका लागि मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ नेपालबाट अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस भएको थियो । बुधबार ओस्कार आयोजक संस्था एकेडेमी अफ पिक्चर आर्ट्स एन्ड साइन्सेसले सार्वजनिक गरेको १५ फिल्मको सर्टलिस्टमा ‘शाम्बाला’ पर्न सकेन ।
यो फिल्मले अष्ट्रेलियाको एसिया प्यासिफिक अवार्डमा युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड, भारतको मुम्बई फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड, टर्कीको बोसफोरस फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितिसकेको छ । यसैले ‘शाम्बाला’ ओस्कारको सर्टलिस्टमा पर्न सक्ने अपेक्षा गरिएको थियो । तर, यसपटकको ओस्कार पनि नेपालका लागि विर्सनलायक बनेको छ । ‘क्याराभान’बाहेक अहिलेसम्म कुनै नेपाली फिल्म ओस्कारको सर्टलिस्टमा पर्न सकेका छैनन् ।
त्यसो त यसपटक ओस्कार एसियाकै लागि निराशाजनक बन्न पुगेको छ । १५ फिल्मको सर्टलिस्टमा एसियाबाट थाइल्यान्डको ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ मात्र अटाएको छ । भारतबाट सिफारिस भएको ‘लापता लेडिज’ पनि ओस्कारमा छनोट हुन सकेन । सन् २०२३ मा भारतीय फिल्म ‘आरआरआर’को ‘नाटु नाटु’ गीतले ओस्कार जितेको थियो ।
ओस्कारमा छनोट १५ वटा फिल्ममा थाइल्यान्डको फिल्मसहित ब्राजिलको ‘आइएम स्टिल हेयर’, क्यानडाको ‘युनिभर्सल ल्यांग्वेज’, चेक रिपब्लिकको ‘वेभ्स’, डेनमार्कको ‘द गर्ल विथ द निडल’, फ्रान्सको ‘इमिलिया पेरेज’, जर्मनीको ‘द सिड अफ द सेक्रेड फिग’, आइसल्यान्डको ‘टच’, आयरल्याण्डको ‘निक्याप’, इटालीको ‘वर्मिग्लियो’, लात्भियाको ‘फ्लो’, नर्वेबाट ‘आर्मन्ड’, प्यालेस्टाइनको ‘फ्रम ग्राउन्ड जिरो’, सेनेगलको ‘दाहोमे’ र बेलायतको ‘सन्तोष’ छन् । अब यसबाट पनि अन्तिम ५ फिल्मको मनोनयन घोषणा हुनेछ ।