गत वर्षसम्म अभिनेता सौगात मल्लका फिल्म एउटा हलबाट नउत्रिँदै अर्को लागिसकेको हुन्थ्यो । हप्तैपिच्छे समेत उनका फिल्म रिलिज भए । तर, यस वर्षका लागि भने उनको पहिलो फिल्म बल्ल हलमा लागेको छ । करिब ८ महिनापछि उनको नयाँ फिल्म ‘बम बहादुर’ शुक्रबारबाट प्रदर्शनमा आएको हो । उनको पछिल्लो फिल्म ‘द रेड सुटकेस’ गत चैत ३० गते हलमा लागेको थियो ।
एकल प्रदर्शनको अवसर पाएको भए पनि ‘बम बहादुर’लाई मल्टीप्लेक्सहरुले उल्लेख्य शो बाँडेका छैनन् । फिल्मलाई देशभर लगभग ३० हाराहारी शो मिलेको जानकारी प्राप्त छ । यो शो संख्या न्यून हो । यद्यपि, ‘वर्ड अफ माउथ’ले हलमा दर्शकको चाप बढाएको खण्डमा फिल्मको शो बढ्ने निश्चित छ । निर्माण टिमले पनि यही अपेक्षा लिएको छ ।
फिल्मले भारतको दार्जिलिङ र त्यसको छिमेकी क्षेत्र डुअर्समा बस्ने नेपाली समुदायको सङ्घर्ष र जीवनलाई कथावस्तु बनाएको छ । गोर्खाल्यान्डका लागि भारतका नेपालीभाषीहरुले गरेको संघर्षमा फिल्म आधारित छ । निर्देशक जोन राईले भारतमा बसोबास गर्ने नेपाली समुदायको इतिहासलाई दस्ताबेजको रूपमा संरक्षित गर्ने उद्देश्यले फिल्मको निर्माण गरिएको बताएका छन् ।
सञ्जीव सार्की निर्माता रहेको फिल्ममा सौगात मल्लसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय छ । फिल्मको कथा तथा पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन् ।