बलिउड अभिनेत्री तथा भ्लगर प्रजक्ता कोली लामो समयदेखि नेपाली युवक वृशांक खनालसँग प्रेम सम्बन्धमा छिन् । अघिल्लो वर्ष उनीहरुले काठमाडौंमा इन्गेजमेन्ट गरेका थिए । मुम्बई विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा प्रजक्ता र वृशांकबीच प्रेम अंकुराएको थियो । करिब १३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु अर्को वर्ष वैवाहिक जीवनमा बाँधिने तयारीमा रहेको जनाइएको छ ।
प्रेमी खनालसँग भेट्न नेपाल आइरहने गरेकी प्रजक्ताले काठमाडौं आफूलाई एकदमै मनपर्ने सहर रहेको बताएकी छन् । हालै भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियाले सञ्चालन गर्ने पोडकास्टमा पुगेकी उनले काठमाडौंको खानादेखि मौसमसम्मको प्रशंसा गरिन् । उनले नेपालका मानिसहरु पनि एकदमै मायालु रहेको बताएकी छन् ।
उनले भनेकी छन्, ‘काठमाडौं मेरो मनपर्ने ठाउँ हो । त्यहाँका मानिस, खाना, मौसम, सहर, संस्कृति एकदमै प्यारो छ । म दुई हप्ताअघि त्यहीँ थिएँ ।’ उनको कुराले भारतीका श्रीमान् हर्षले आफूलाई पनि काठमाडौं जाने इच्छा रहेको बताए । भारतीले भने धेरैअघि आफू नेपाल पुगेको स्मरण गरिन् । र, फेरि नेपाल जाने इच्छा व्यक्त गरेकी छन् । उनको नेपालसँग पुर्ख्यौली नाता छ ।
पोडकास्टमा प्रजक्ताले इन्गेजमेन्टको औँठी पनि देखाएकी छन् । त्यसपछि उनलाई भारतीले सोध्छिन्, ‘मैले सुनेको तिम्रो हुनेवाला श्रीमान् नेपालको हुन् रे ?’ प्रजक्ताले यसमा सत्यता रहेको बताइन् । उक्त पोडकास्टमा उनले वृशांकको स्वभावको पनि तारिफ गरेकी छन् । तर, आफूहरुको पेशा अलग रहेको उनको भनाई छ ।
‘ऊ एकदमै सरल छ । राम्रो छ । तर, हामी दुवै पेशाले चाहिँ अलग छौं । ऊ कर्पोरेट लयर (वकिल) हो । इन्भेष्टमेन्ट बैंकमा काम गर्छ,’ उनले वृशांकसँगको रिलेशनसिपबारे अगाडि भनेकी छन्, ‘हामी १३ वर्षदेखि साथमा छौं । ऊसँग भेट हुँदा म भर्खर १८ वर्षकी थिएँ । र, वृशांक २२ वर्षको थियो । हामी चाँडै विवाह गर्ने सोचमा छौं ।’
प्रजक्ताले ‘जुगजुग जियो’, ‘नियत’ जस्ता हिन्दी फिल्म गरिसकेकी छन् । केही दिनअघि उनी अभिनीत वेब सिरिज ‘मिसम्याच्ड’को तेस्रो सिजन नेटफ्लिक्समा रिलिज भएको छ । ‘मस्टलीसेन’को रुपमा परिचित उनी चर्चित युट्युबर समेत हुन् । दैनिक जीवनलाई हाँस्य रूपमा प्रस्तुत गर्ने उनको शैलीलाई युट्युबमा निकै रुचाइन्छ । उनले रेडियो जकीको रुपमा करिअर सुरु गरेकी थिइन् ।