अभिनेता सुशील श्रेष्ठको चार वर्षपछिको कमब्याक फिल्म ‘आउट लः दफा २१९’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै फागु पूर्णिमा (होली)को दिन पारेर आगामी फागुन २९ गतेबाट फिल्म रिलिज हुने जानकारी दिए । यसअघि गत असोज ३ गते फिल्म रिलिज हुने निश्चित थियो । तर, छायांकन नसकिँदा फिल्म प्रदर्शन हुन सकेन ।
नयाँ प्रदर्शन मितिसहित सार्वजनिक गरिएको पोस्टरमा सुशील चित्रित छन् । सुटबुटमा देखिएका उनी हातमा धारिलो हतियार लिएर सोफामा शान्त भावमा बसेका छन् । उनको आँखामा रिसको आवेग छ । अनुहारको एक भागमा रगतको छिर्का देखिन्छ । यसले उनको पात्र हिंसात्मक रहेको बुझाउँछ । पोस्टरमा उनलाई ‘एक्सन स्टार’को ट्याग पनि दिइएको छ ।
विक्की महर्जनको निर्देशनमा तयार भएको फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुन, हेम गुरुङ लगायतको अभिनय छ । अमित अग्रहरिको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता विनोद कठायत हुन् । सह-निर्माताको रुपमा भने विकास चौधरी छन् । यसमा नविन गुरुङको डीओपी छ ।
एक्सन जनरामा निर्माण भएको फिल्ममा साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन तथा चुल्ठे काजीको द्वन्द्व निर्देशन छ । फिल्मको एक्सन दृश्य खिच्न निर्माण टिमले ४० लाख खर्च गरेको जनाइएको छ । गत साउनमा रिलिज भएको टिजरले फिल्मको राम्रो हाइप बनाएको थियो । तर, रिलिज स्थगन हुँदा त्यो हाइप व्यर्थ बन्यो । यद्यपि, फिल्मप्रति दर्शकको अपेक्षा बढेको छ ।