गत वर्षको फागुनमा प्रदर्शनमा आएको ‘रंगेली’का निर्देशक अर्जुन सुवेदी आफ्नो दोस्रो फिल्म ‘सोल्टिनी’को यही पुष अन्तिमबाट छायांकन गर्ने तयारीमा छन् । फिल्ममा कलाकारहरुको बलियो ‘लाइनअप’ बनाएका उनले यसमा फरक जातीय पृष्ठभूमिका दुई पात्रको प्रेमकथा प्रस्तुत गर्दैछन् । र, यो कथा उनले अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूमार्फत् पर्दामा देखाउनेछन् ।
छायांकनका लागि तयारी भइरहँदा आइतबार फिल्मको भाव बुझाउने एक पोस्टर सार्वजनिक गरिएको छ, जसमा प्रकाश र परीक्षा चित्रित छन् । उनीहरुलाई भावुक मुद्रामा देख्न सकिन्छ । यसले उनीहरुबीचको प्रेम र वियोग भाव दर्शाउँछ । फिल्ममा प्रकाशले ‘भीमसेन पोखरेल’ र परीक्षाले ‘दिलासा राई’को भूमिका निभाउनेछन् । यतिबेला फिल्मको वर्कसप चलिरहेको छ ।
भोजपुर गाउँको परिवेशमा छायाङ्कन हुने ‘सोल्टिनी’ले समाजमा व्याप्त जातीय भेदभाव र अमानवीयताविरुद्धको आवाज उठाउँदै दुई प्रमुख पात्रको प्रेम प्रस्तुत गर्ने निर्देशक सुवेदीले बताए । यसमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, र सुजन खतिवडाको पनि अभिनय रहनेछ ।
सुशन प्रजापतिको छायांकन रहने फिल्मको गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले संगीत दिनेछन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने फिल्मका लेखक अर्जुन सुवेदी र कुमार भट्टराई हुन् । रेजिना बिस्ट र संसार चौलागाईँ रहेको फिल्मलाई २०८२ साल असोज ३ गते अर्थात् संविधान दिवसको दिन रिलिज गरिने जनाइएको छ ।