मिति : २०८१ पौष ८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजबल्लभ अब कवि

फिल्मीखबर, काठमाडौं, 2024/12/22

Raj Ballav Koirala

 

कुनै समय लभस्टोरी फिल्ममा सफल मानिएका अभिनेता राजबल्लभ कोइरालाको परिचयमा नयाँ आयाम थपिने भएको छ । साहित्यप्रति विशेष रुचि राख्ने उनले कविको परिचय थप्न लागेका हुन् । उनी आफ्नो पहिलो कृतिको रुपमा कविता संग्रह ‘औरा’ सार्वजनिक गर्ने तयारीमा छन् । प्रकाशनको अन्तिम तयारीमा रहेको पुस्तक यसै वर्ष बजारमा उपलब्ध हुने जनाइएको छ ।

राजबल्लभले दुई दिनअघि फेसबुकमार्फत् पुस्तकको आवरण सार्वजनिक गरेका थिए, जसमा नाम सेतो रंगको अक्षरमा छ भने ‘औरा’को ‘र’लाई चन्द्रमाको आकार दिइएको छ । आवरणमा सेतो हंस र मानिस आकारको चित्र पनि देख्न सकिन्छ । ‘औरा’ राजबल्लभकी छोरीको नाम पनि हो । यो नामको अर्थ आभामण्डल भन्ने हुन्छ । अर्थात् प्रकाशको घेरा ।

भाषा र साहित्यसम्बन्धी अनलाइन पत्रिका साहित्यपोस्ट डटकमले प्रकाशन गर्न लागेको पुस्तकमा एक सयभन्दा बढी कविता समावेश हुनेछन् । यसमा सबै प्रकारका कविता रहेको राजबल्लभले जानकारी दिए । उनी ‘औरा’लाई जीवन तत्त्व र मानवीय संवेदनाहरुको विचार मन्थनको रुपमा व्याख्या गर्छन् । पुस्तक पढ्दा जोकोहीलाई आफ्नोपन महसुस हुने उनको विश्वास छ ।

राजबल्लभले पहिलो पटक पुस्तकको रुपमा कविता संग्रह बजारमा ल्याउन लागेको भए पनि उनले सामाजिक सञ्जालमा फुटकर कविता भने पोस्ट गर्दै आइरहेका छन् । उनको फेसबुकमा ‘२४ घण्टा’, ‘आउन न एकछिन गफ गरौं’ जस्ता शीर्षकमा लेखिएका कविताहरु भेट्न सकिन्छ । उनले लेख्ने प्रायः स्टाटसहरु पनि साहित्यिक हुन्छन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आइरहेका राजबल्लभको यस वर्ष पहिलो कविता संग्रहसँगै एक दशकपछिको कमब्याक फिल्म ‘एक्टर : टेक वान’ पनि प्रदर्शनमा आउँदैछ । यो फिल्म आगामी माघ १६ गतेबाट सार्वजनिक प्रदर्शन हुने तयारीमा छ । यसमा उनी नकारात्मक भूमिकामा रहेको जनाइएको छ । राजबल्लभ कविता संग्रह र फिल्म दुवैलाई लिएर उत्साहित देखिएका छन् ।

Most Visited News (monthly)