मिति : २०८१ पौष ८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६ महिनापछि ‘कार्साङ’मार्फत् पर्दामा देखिँदै दयाहाङ

फिल्मीखबर, काठमाडौं, 2024/12/22

Dayahang Rai

 

अभिनेता दयाहाङ राईलाई कतिपयले राजेश हमालको पुनरावृत्ति भन्ने गरेका छन् । हमालले झैँ फिल्मको संख्यात्मक वृद्धिमा जोड दिँदा उनले यो आलोचना खेप्नु परेको हो । गत वर्षसम्म उनका फिल्म यसरी आए, मानौं उनी फिल्म उत्पादन गर्ने मेसिन हुन् । गत वर्ष (२०८०) मात्र उनका ९ वटा फिल्म हलमा रिलिज भएका थिए । दुईपटक त एउटै मितिमा उनका आफ्नै फिल्म भिड्न पुगे ।

दयाहाङका फिल्म सिरियलजसरी आउँदा दर्शकहरु नै दिक्दार बनेका थिए । ‘एउटै अनुहार कति हेर्ने’ भन्ने मनोविज्ञान बन्न थालेको थियो, जुन उनको करिअरकै लागि खतराको सूचक थियो । यसैले उनले काम गर्ने शैली बदल्नैपर्ने थियो । अब उनले यसमा ध्यान दिन थालेको देखिन्छ । यस वर्ष उनले थोरै फिल्म गरेका छन् । र, फिल्म रिलिजको अन्तर पनि बढ्न थालेको छ ।

असारयता उनका कुनै फिल्म हलमा लागेका छैनन् । उनको पछिल्लो फिल्म ‘घरज्वाइँ’ गत असार २८ गते प्रदर्शन भएको थियो । अब ६ महिनापछि उनको नयाँ फिल्म ‘कार्साङ’ यही पुष २६ गतेबाट प्रदर्शनमा आउँदैछ । आधा वर्षपछि उनको फिल्म आउन लागेकाले दर्शकमा पनि उत्साह देखिएको छ । फिल्मको टिजरलाई युटयुबमा मिलेको सकारात्मक प्रतिक्रिया यसको प्रमाण हो ।

फिल्ममा दयाहाङले गाउँले परिवेशको चरित्र बाँचेका छन्, जो पेशाले शेर्पा समुदायको झाँक्री हुन्छ । गरिबी, अभाव र बाध्यताबीच पनि आफ्नो जातिको संस्कार जोगाउने चरित्रमा उनी छिन् । गत महिना युट्युबमा सार्वजनिक भएको टिजरले ‘कार्साङ’को कथा भुइँमान्छेको रहेको प्रष्ट पार्छ । दयाहाङले चरित्र निर्माणमा मिहिनेत गरेको पनि देखिन्छ ।

‘कार्साङ’मा यम शेर्पाको निर्देशन छ । यो उनको पहिलो निर्देशकीय फिल्म हो । उनले पहिलो फिल्ममा नै आफ्नो समुदायको कथा उठाएका छन् । उनी स्वयंको लेखन रहेको फिल्ममा दयाहाङसहित जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, सुरवीर पण्डित लगायतको अभिनय छ । यसमा पुरुषोत्तमको प्रधान छायांकन छ भने निर्माता पनि उनी स्वयं हुन् ।

 

Most Visited News (monthly)