अभिनेता हरिवंश आचार्यको परिचयको आयाम फराकिलो छ । अभिनय त उनको परिचयको एउटा पाटो मात्र हो । गायन तथा लेखनमा पनि उनी सक्रिय छन् । अहिले पनि वर्षमा एक/दुईवटा गीत उनका आइरहन्छन् । तर, फिल्मका लागि भने उनले विरलै गीत गाउने गरेका छन् । पछिल्लोपटक उनले सन् २०१६ मा रिलिज भएको फिल्म ‘जात्रा’मा समावेश ‘नोट नोट’ गीत गाएका थिए ।
अब ८ वर्षपछि उनले फिल्मको पार्श्व गायनमा कमब्याक गरेका छन् । अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘सोल्टिनी’को एक गीतमा उनले आफ्नो आवाज दिएका हुन् । आइतबार गीत रेकर्ड गरिएको थियो । उक्त गीतमा हर्कुलस बस्नेतको संगीत रहेको छ । कलाकार आचार्यले गाएको गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिने निर्देशक सुवेदीले बताए ।
यही पुष अन्तिमबाट छायांकनको तयारी गरिएको फिल्ममा अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बू मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । फरक जातीय पृष्ठभूमिका दुई पात्रको प्रेमकथामा बन्न लागेको फिल्ममा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतको पनि अभिनय रहनेछ ।
सुशन प्रजापतिको छायांकन रहने फिल्मको एक गीतमा प्रशान्त सिवाकोटीले पनि संगीत दिनेछन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने फिल्मको स्क्रिप्ट अर्जुन सुवेदी र कुमार भट्टराईले मिलेर लेखेका हुन् । रेजिना बिस्ट र संसार चौलागाईँ रहेको फिल्मलाई २०८२ साल असोज ३ गते, संविधान दिवसको दिन रिलिज गरिने जनाइएको छ ।