लामो समयदेखि दर्शकको एउटा तप्काले पर्दामा हेर्न चाहेको जोडी हुन्, अनमोल केसी र नीति शाह । फिल्ममा उनीहरुको जोडी बाँध्ने प्रयास नभएको पनि होइन, तर आजसम्म सहकार्य जुर्न सकेको छैन । फिल्म ‘ड्रिम्स’मा नै अभिनेता भुवन केसीले अनमोल र नीतिको जोडी बाँध्न खोजेका थिए । तर, त्योबेला नीतिले रुचि नदेखाएपछि ‘ड्रिम्स’बाट साम्राज्ञी आरएल शाहले डेब्यु गरेकी थिइन् ।
जब नीतिले अभिनेत्री बन्ने सोच बनाइन्, त्यसपछि पनि उनको अनमोलसँग जोडी बाँध्न केही निर्माता अगाडि सरेका थिए । ‘एक्स ९’ भन्ने फिल्ममा दुवैसँग सम्झौता नै भएको थियो । तर, यो फिल्म बन्न सकेन । यसपछि ‘रावायण’ भन्ने फिल्ममा पनि उनीहरुको जोडी बाँध्न खोजिएको थियो । तर, छायांकनको अन्तिम समयमा आएर अनमोलले फिल्म छाडेपछि नीतिलाई पनि हटाइयो ।
फिल्ममा सहकार्य जुर्न नसकेको भए पनि अनमोल र नीतिबीच निकै राम्रो सम्बन्ध छ । स्कूलका सहपाठी समेत रहेका उनीहरुको बेलाबखतमा भेट भइरहन्छ । यतिबेला उनीहरु अमेरिकामा छन् । आइतबार सान फ्रान्सिस्कोमा आयोजना भएको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’मा सहभागी हुन पुगेका उनीहरु त्यहाँ घुमफिरदेखि फोटो सेसनमा रमाइरहेका छन् ।
नीतिले अवार्ड सकिएपछि अनमोलसँग खिचेका केही प्रेमिल तस्वीरहरु आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा सेअर गरेकी छन्, जसमा उनीहरु हँसिलो मुद्रामा देखिएका छन् । एउटा तस्वीरमा अनमोल र नीतिले एकअर्कालाई हेरेर मुस्कुराएका छन् । यसले पनि उनीहरुबीच हार्दिक सम्बन्ध रहेको दर्शाउँछ । अब यो जोडीलाई पर्दामा हेर्न दुवैका प्रशंसकहरु अधैर्य छन् ।