पछिल्लो समय नेपाली निर्मातालाई ओभरसिज राइट्स राम्रो आम्दानीको स्रोत बनेको छ । विदेशमा फिल्म बिक्री हुँदा लगानीको ठूलो हिस्सा उठ्ने गर्छ । सिक्वेल र सिरिज फिल्मको त ओभरसिज राइट्सबाटै लगानी सुरक्षित हुने गरेको छ । यसैले अचेल फिल्म निर्माण नहुँदै धेरैजसो निर्माताले विदेश राइट्स बेचिसकेका हुन्छन् । कतिपय फिल्म छायांकनको क्रममा पनि बिक्री हुने गर्छन् ।
अभिनेता सलोन बस्नेतले आफ्नो निर्माणमा बनेको नयाँ फिल्म ‘रंगी’को छायांकनको बेलादेखि विदेश राइट्स बेच्न सुरु गरेका थिए । छायांकन सकिँदासम्म मध्यपूर्व, मलेसिया र माल्टामा फिल्म बिक्री भइसकेको थियो । अब जापान राइट्स पनि बिक्री भएको छ । युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले फिल्मको जापान अधिकार खरिद गरेका हुन् ।
आगामी फागुन २ गते अर्थात् भ्यालेनटाइम डेको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्मको चार देशमा प्रदर्शन अधिकार बिक्री गरेर सलोनले राम्रो रकम हात पारेको बुझिएको छ । अन्य केही देशमा पनि फिल्म बिक्रीका लागि छलफल भइरहेको जनाइएको छ । यसरी हेर्दा सलोन फिल्म प्रदर्शन अगावै विदेश राइट्सबाट लगानी सुरक्षित गर्ने प्रयासमा रहेको देखिन्छ ।
सुरेश न्यौपानेको निर्देशन रहेको फिल्ममा सलोनका साथै नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ । नम्रता सन् २०२० की मिस नेपाल हुन् । उनले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी हुन् । बाबुछोरीको भावनात्मक सम्बन्धको कथाामा बनेको फिल्ममा सुमन गजमेरको लेखन तथा सौरभ लामाको छायांकन छ ।