मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो चल्यो सौगातको ‘बमबहादुर’ ?

फिल्मीखबर, काठमाडौं, 2024/12/24

सौगातको 'बम बहादुर' पुष ५ मा आउने, यस्तो छ टिजर

 

यस वर्षको बैशाखदेखि कात्तिक महिनासम्मको समय नेपाली फिल्मका लागि सानदार रह्यो । यो अवधिमा करिब एक दर्जन फिल्म व्यावसायिक रुपमा सफल भए । व्यापार मात्र एक अर्बमाथि भयो । एक वर्ष पनि नपुग्दै यो किसिमको व्यापार भएको नेपाली फिल्मको इतिहासमै पहिलो पटक हो । यसैले यतिबेला धेरैले नेपाली फिल्मको ‘स्वर्ण युग’ सुरु भएको विश्लेषण गरिरहेका छन् ।

तर, कात्तिकसम्म उत्साहपूर्ण रहेको नेपाली फिल्मको व्यापार मंसिरदेखि सेलाएको छ । र, फिल्म रिलिजमा पनि कमी आएको छ । मंसिरमा जम्मा दुई फिल्म रिलिज भए, ‘तेल भिसा’ र ‘अग्निदहन’ । यी दुवैले अपेक्षित व्यापार गर्न सकेनन् । बरु मंसिर २० गते आएको साउथ फिल्म ‘पुष्पा २’ले नेपालमा सुनामी ल्यायो । यसैको डरले पनि मंसिरमा अरु नेपाली फिल्म आएनन् ।

यही पुष ५ गते भने एक महिनापछि हलमा नयाँ नेपाली फिल्म लाग्यो । त्यो हो, ‘बमबहादुर’ । चिसो मौसम सुरु भएसँगै चिसिएको नेपाली फिल्मको व्यापारलाई यसले तताउने अपेक्षा गरिएको थियो । तर, नामजस्तो बक्स अफिसमा फिल्म बहादुर बन्न सकेन । पहिलो दिनदेखि नै दर्शक अभाव हुँदा प्रायः हलले फिल्मलाई दुई दिनमै उतारे । अहिले फिल्मलाई देशभर ३/४ वटा मात्र शो छ ।

यसमा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा छन् । यस वर्षका लागि उनको यो पहिलो रिलिज फिल्म थियो । तर, बोहनी नै राम्रो हुन सकेन । दुई दिनमै फिल्म हलबाट उत्रनुले उनको स्टारडममाथि समेत प्रश्न उठेको छ । यद्यपि, उनलाई ‘बमबहादुर’बाट ठूलो अपेक्षा थिएन भन्ने कुरा रिलिजअघि नै देखिन्थ्यो । उनी प्रचारमा जम्मा एक दिन मात्र देखिएका थिए ।

त्यसो त सौगातलाई फिल्मको असफलता बानी परिसकेको छ । उनका फिल्म वर्षेनि हिटभन्दा ज्यादा फ्लप नै भइरहेका हुन्छन् । यद्यपि, कुशल अभिनयका कारण उनी कामविहीन हुनुपरेको छैन । अहिले पनि उनको हातमा लगभग एक दर्जन फिल्म छन् । उनलाई सेड्युल मिलाउनै हम्मेहम्मे परेको छ । यसरी हेर्दा उनलाई फिल्मको असफलताले करिअरमा कुनै असर गरेको देखिँदैन ।