नेपालमा फिल्मको घोषणा जुन हिसाबमा हुन्छ, त्यो अनुपातमा निर्माण भएको पाइँदैन । धेरै फिल्म घोषणामै सीमित हुने गरेका छन् । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने भनिएको फिल्म ‘ऐरी’ पनि गत वर्षको मंसिरमा घोषणा गरिएको थियो । र, सन् २०२४ मा रिलिज लक्ष्य राखिएको थियो । तर, घोषणको एक वर्ष वितिसक्दा पनि अझैसम्म फिल्म निर्माण हुन सकेको छैन ।
फिल्मको घोषणा हुँदा हिन्दी, अंग्रेजी, तमिल र नेपाली भाषामा फिल्म बन्ने जानकारी गराइएको थियो । फिल्मको चरित्रका लागि प्रदीपले तयारी पनि सुरु गरिसकेका थिए । ‘पूजार सार्की’मा देखिएको उनको लामो कपाल ‘ऐरी’कै लागि थियो । उनले शरीर पनि सुगठित बनाएका थिए । तर, फिल्मको छायांकन नै सुरु हुन सकेन । यसपछि प्रदीपले अरु फिल्मलाई समय दिए ।
घोषणा भएको एक वर्ष बढी भइसक्दा पनि ‘ऐरी’ निर्माण नहुँदा अब यो फिल्म नबन्ने अड्कलबाजी भइरहेको छ । तर, फिल्मका निर्देशक जीवन थापाले यसै वर्ष छायांकन हुने दाबी गरेका छन् । यतिबेला प्रि-प्रोक्सनको काम भइरहेको र आगामी चैतबाट छायांकन गरिने उनले जानकारी दिए । प्रदीप पनि भर्खर फुर्सद भएकाले अब काम तीव्र रुपमा अगाडि बढ्ने उनको भनाई छ ।
उनले भने, ‘फिल्म ठूलो क्यानभासमा बन्दैछ । यसैले प्रि-प्रोडक्सनमा समय लाग्यो । प्रदीपजी पनि बल्ल फ्रि हुनुभयो । अब हामी छायांकनको तयारीमा जुटेका छौं । सम्भवतः चैतबाट छायांकनमा जान सक्छौं ।’ उनका अनुसार प्रदीपले फिल्मको चरित्रका लागि केही केजी तौल घटाउनुपर्नेछ । त्यसका लागि उनले तयारी सुरु गरिसकेको निर्देशक थापाले बताए ।
फिल्ममा प्रदीपसहित भुटानी मुलका बलिउड अभिनेता सांगे सेल्ट्रिमको पनि अभिनय रहनेछ । फिल्म ‘राधे’बाट बलिउडमा डेब्यु गरेका उनी ‘जवान’मा पनि देखिएका थिए । उनले केही भुटानी फिल्ममा समेत काम गरेका छन् । एक्सन जनरामा बन्न लागेको ‘ऐरी’मा प्रदीप सिकारीको भूमिकामा हुनेछन् । गत वर्ष उनलाई प्रस्तुत गर्दै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो ।